शेयेर गर्नुहोस
झलनाथ खनाल/ टीकापुर, १९ फागुन :
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ का पुनिराम थारु पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगर खेती गर्दै आउनुभएको छ । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि पुनिरामले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आउनुभएको हो ।
उहाँले त्यस क्षेत्रमा प्याज खेतीलाई प्राथमिकता दिनुभएको छ । उहाँको प्याज खेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आउनुभएका पुनिरामले प्याजसँगै धनिया, मकै, बन्दा गोभी, टमाटर समेत उत्पादन गर्नुभएको छ । “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ ।” उहाँ भन्नुहुन्छ, “खाली खेर गैरहेको बगरको सदुपयोग भएको छ । स्थानीयको आम्दानीको स्रोत बनेको छ ।”
कैलालीको टीकापुर र बर्दिया जिल्लाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपासको क्षेत्रमा आजभोलि हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं. ८ फाँटा गाउँका ५०/६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याज खेती गर्दै आउनुभएको छ । बर्सेनि उक्त संख्या बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग ७ सय क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्युनतम ५/६ क्विन्टल प्याज उत्पादन गर्नुहुन्छ । उत्पादन सोचेभन्दा राम्रो हुन्छ ।” स्थानीय सम्झनी चौधरी भन्नुहुन्छ, “अहिले बगरमा खेती गर्ने किसानहरूको संख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।” उहाँले अन्य खेतबारीमा लगाएको प्याज भन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताउनुभयो ।
टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याज खेती गर्नुभएको छ । गतवर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजि प्याज लगाउनुभएकी उहाँ सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त हुनुहुन्छ । हरेक बिहान प्याज सिँचाइ गर्न पुग्नुहुने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुनेथियो भन्ने लाग्ने गरेको छ । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवा भित्रको जमिन ओसिलो हुने हुँदा होला, घाम पानीको मात्रा मिलेको देखिन्छ ।” सम्पुर्नी भन्नुहुन्छ, “मैले घरमा लगाएको प्याज भन्दा राम्रो बगरको भएको छ ।”
बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याज खेती सुरु गर्नुभएको छ । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उहाँले आफुलाई घरका लागि चाहिने जति प्याज रोप्नुभएको छ । “मलाई बिक्रि गरेर आम्दानी गर्नुभन्दा पनि आफुलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ ।” उहाँ भन्नुहुन्छ, “बरु अर्कोवर्ष बिक्रीवितरण गर्ने गरी लगानुपर्ला ।” बगरमा नयाँ किसानले परिक्षण गर्न भन्दै प्याज खेती गर्ने गरेको भए पनि विगतदेखी खेती गर्दै आउनुभएका किसानले व्यावसायिक रुपमा नै बगरको सदुपयोग गर्दै आउनुभएको छ । खेती गरेवापत कसैलाई केही दिन नपर्ने भएपछि किसानहरूले झन उत्साहित भएर खेती विस्तार गर्दै आउनुभएको छ ।
अस्वभाविक रुपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षातको समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षातको पीडा बिर्सने गरेका छन् । “वर्षातको समयमा यहीँ कर्णालीको वेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ । हिँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ ।” स्थानीय बृहस्पति थरुनी भन्नुहुन्छ, “किसान आजभोलि त्यो बर्खाको दु:ख सम्झिदैनन, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन ।”










