शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १५ मंसिर /
नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएपछि पनि तल्लो तहमा निकै किचलो देखिएको छ ।
लोकतान्त्रिक पद्धतिमा निर्वाचनबाट नेतृत्व छनोट गर्ने काँग्रेसको आन्तरिक विवाद अहिले कैयौं क्षेत्रहरुमा सतहसम्म पुग्ने गरि बढेको पाइन्छ । विशेषगरी कैलालीको क्षेत्र नं. १ मा त्यो विवादले आगामी निर्वाचनसम्म असर पार्नेगरी काँग्रेस नेता तथा कार्यकर्ताहरु विश्लेषण गर्न थालेका छन् । कतिपयले त जुन ढंगबाट नेतृत्व चयनमा भएको चलाखिपनलाई आउने स्थानीय तथा प्रदेश र संघीय तहको निर्वाचनसम्म टिकाउन चुनौती समेत दिएको पाइन्छ । त्यतिमात्र नभई महाधिवेशनमा आफ्नो पक्षमा नेतृत्व पार्न बाहिरी तत्वलाई समेत घुसपैठ गरेको आरोप पनि लगाउने गरेका छन् ।
नेपाली काँग्रेसक कैलाली क्षेत्र नं. १ का निवर्तमान सभापति भुवनेश्वर अधिकारीले आगामी दिनहरुमा पार्टीलाई कुन ढंगबाट अगाडि बढाउने भन्ने नेतृत्वमा भर पर्ने बताएका छन् । उनले टीकापुर वडा नं. १ को वडा अधिवेशनमा देखिएको समस्याले आगामी दिनमा पार्टीलाई मजबुत बनाउन नसक्ने बताउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजान अहिलेको नेतृत्वले भुमिका खेल्न सक्नुपर्ने बताएका छन् । “हिजोका निर्वाचनमा पार्टी भित्र अन्तर्घात गरेकाहरु नै नेतृत्वमा छन् । उहाँहरुकै हातमा हुन्छ आगामी निर्वाचनमा काँग्रेसलाई कस्तो बनाउने भन्नेमा ।” अधिकारीले भने, “हामिले हिजोका दिनहरुमा राम्रो गर्दागर्दै पनि हामिलाई राम्रो गर्न नदिएको तितो अनुभव छ । अब नेतृत्व भन्दा बाहिर रहेकाहरुलाई नेतृत्वले नै समेट्न सके पार्टी सुदृढ बन्नसक्ला नभए हामिले भन्नुपर्ने कुरा के छ र ?”
त्यस्तै नेपाली काँग्रेसका नेता फकिरसिंह कडायतले आगामी निर्वाचनमा काँग्रेसको जतिजा अहिलेको नेतृत्वमा भर पर्ने बताएका छन् । उनले अहिलेको अधिवेशनमा हार्ने र जित्नेहरु एउटै पक्षबाट भएको बताउँदै नेतृत्वले आपसमा देखिएको मनमुटावलाई मिलाएर लैजानेमा आफू विश्वस्त भएको बताए । “बिगतमा के भयो त्यसको पछि लाग्ने होइन , अब कसरी राम्रो गर्न सकिन्छ भन्नेतिर लाग्नुपर्छ ।” कडायतले भने, “नेतृत्वमा आएका साथीहरूको आगामी दिनहरुमा गरेको कामको मुल्यांकनले पनि आउने आम निर्वाचनमा नेपाली काँग्रेसको भुमिका निर्धारण गर्छ ।”
नेपाली काँग्रेसका निर्वाचित कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले काँग्रेसको आन्तरिक निर्वाचन भएका कारणले यहाँ कसैको जित र पराजित नभएको बताउँदै आगामी आम निर्वाचनमा एक निर्वाचित टिमबाट मात्रै उम्मेदवार नहुने र पराजित भएका टिमबाट पनि उम्मेदवार हुनसक्ने भएकोले त्यहाँ कुनै अन्तर्घातको विषय नरहने बताएका छन् । उनले अहिले सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीले नेपाली काँग्रेसमा कुनै असर नपर्ने भन्दै सामाजिक सञ्जालमा चिन्तित देखिनेहरुले बाहिरी क्रियाकलापमा कतैपनि चिन्तित भएको नदेखिएको बताएका छन् ।
“जस्ले सामाजिक सञ्जालमा अन्तर्घातको कुरा गर्दै आएका छन् । उहाँहरुले नै पार्टीमा पटकपटक अन्तर्घात गर्दै आएका छन् ।” शाहले भने, “अब हामिले त्यो व्यबहारको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध र बिधि सिद्धान्तमा रहेर सबै नेपाली काँग्रेस प्रती लागेका नेताकार्यकर्ताहरुलाई सँगै लिएर जाने कुरामा नेतृत्व कतै पनि चुक्ने छैन ।”
त्यस्तै नगर सभापति नरेशकुमार खत्रीले नेपाली काँग्रेस भित्र देखिएको विवाद नभई नेतृत्वकोलागि भएको निर्वाचनमा पराजित भएपछिको आक्रोश मात्रै भएको बताउँदै यसलाई विवादको रुपमा हेर्न नहुने बताएका छन् । उनले नेतृत्वमा आएका साथीहरूले पनि पराजित भएका साथीहरूलाई पनि सँगै लैजाने बताउँदै काँग्रेसलाई बलियो रुपमा देख्नको लागि मिल्नुको अर्को विकल्प नभएको बताएका छन् । “महाधिवेशनको समयमा यस्तो सामान्य आक्रोश देखिनु सामान्य हो । तर, सामान्य कुराहरूलाई सामाजिक सञ्जालमा ल्याएर विवाद गर्नु पार्टीको लागि राम्रो होइन ।” खत्रीले भने, “अब महाधिवेशन सकिएपछि सबै नेता कार्यकर्ताहरुलाई सँगै राखेर काँग्रेसलाई बलियो बनाउँदै सबैको साझा योजनाका साथ अगाडि बढ्ने योजना नगर समितीको छ ।”