काँग्रेस कम्जोर भए अहिलेको व्यवस्था नै कम्जोर हुन्छ : राठौर

शेयेर गर्नुहोस


टीकापुर १५ माघ /
नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठौरले नेपाली काँग्रेस कम्जोर भएको खण्डमा अहिलेको व्यवस्था नै कम्जोर भएर जाने बताएका छन् । नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ को १४ औं महाधिवेशनको दोस्रो प्रतिनिधि सभाको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सहमहामन्त्री राठौरले अहिलेको व्यवस्था ल्याउनमा काँग्रेसको भुमीका सबैभन्दा माथी रहेको भन्दै जनताको माझमा काँग्रेस कम्जोर भए व्यवस्था कम्जोर हुने बताएका हुन ।
“देशको वर्तमान व्यवस्था ल्याउनमा काँग्रेसको ठूलो देन छ । यदि काँग्रेस कुनै हालतमा कम्जोर भयो भने अहिलेको व्यवस्था संकटमा पर्न सक्ने खतरा छ ।” उनले भने, “त्यसका लागि पार्टी भित्रको अन्तर विरोध र मतभेदका भावनालाई त्यागेर पार्टी संगठन मजबुत बनाउन लाग्नुपर्छ ।” सम्मेलनलाई सम्बोधनका क्रममा उनले अहिलेको व्यवस्थाले सबैको अधिकारलाई सुनिश्चित गरेको पनि बताएका छन् ।
जात धर्म र सम्प्रदाय लक्षित राजनीतिले भविष्यको खाका कोर्न नसक्ने बताउँदै राठौरले जनतालाई भविष्य सोचेर वर्तमानमा आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेका छन् । “हामी कुनै जाती, धर्म र वर्गको पार्टी होइनौं । काँग्रेस सबैको पार्टी हो, जहाँ सबै समुदाय अटाउन सक्छ । हामी समाजमा सामाजिक सद्भाव चाहन्छौं । ” उनले भने, “यहाँ जातीयताको नारा लगाएर देश बन्दैन भन्ने कुरा त पछिल्लो गतिविधिबाट सबैले बुझिसकेका होलान् ।”
रातारात देश बनाउछु भन्नु पागल पन भएको बताउँदै राठौरले देश बनाउनु भनेजस्तो सजिलो नभएको बताए । “यहाँ रातारात देश कायापलट हुन्छ भन्ने ठग हो । रातारात पार्टी बनाउँछु भन्ने पनि ठग हो ।” राठौर भन्छन्, “देश होस वा पार्टी बन्नका लागि योजना चाहिन्छ, बिचार चाहिन्छ, अनि कार्यदिशा चाहिन्छ । त्यतिमात्र होइन आर्थिक पनि चाहिन्छ ।” राजनीतिमा पनि दु:ख, पीडा अनि प्रशस्तै समस्या रहेको राठौर बताउँछन् । पाउनको लागि राजनीति लाग्नेहरुकै कारण पार्टीहरु स्थापित हुन नसकेको उनको तर्क छ ।
सम्बोधनका क्रममा उनले लोकतन्त्र मान्नेहरुले रिस नगर्ने बताएका छन् । “लोकतन्त्रको सुन्दर पक्ष पाउनु मात्रै होइन गुमाउनु पनि हो । रिस गर्नेहरू लोकतन्त्रको सिद्धान्तमा अडिग छैन भन्ने बुझ्न सकिन्छ ।” उनी भन्छन्, “लोकतन्त्रको सुन्दर पक्ष भनेको जित्नेले चलाउने, हार्नेले पर्खने अनि जित्नेले मिलाएर लैजाने र हार्नेले मिलेर जाने आट गर्नुपर्छ ।”
क्षेत्रीय सभापति प्रकाश शाहको अध्यक्षतामा भएको उक्त सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य डा रणबहादुर रावल, नृपबहादुर ओड, नारायणदत्त मिश्र, नवराज रावल, फकिरसंह कडायत, गणेश रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्षेत्रीय सचीव धनन्जय रिमालले सञ्चालन गरेको कार्यक्रममा काँग्रेस क्षेत्र नं. १ प्रदेश क का सभापति पर्शुराम महत्तोले स्वागत गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *