कार्यपालिकाका पहिलो बैठकको निर्णय सार्वजनिक

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २० जेठ /
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् ।
नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेपछि बिहीवार कार्यपालिकाको बैठकले २०७२ सालको टीकापुर घटना पहिचानको लागि भएको आन्दोलनमा घटेको दु:खद घटना भएकोले त्यसलाई राजनीतिक मुद्दा बनाउनको लागि पहल गर्ने, आउँदो गाउँसभा असार ७ र ८ गते गर्ने, सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि छिमेकी पालिकासँग समन्वय गर्ने, गाउँपालिका थारु बाहुल्य क्षेत्र भएको भन्दै सिकलसेल अनेमिया रोगको उपचारका लागि अस्पताल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने र कार्यपालिका सञ्चालनको लागि आवश्यक समिती गठन गर्ने लगायतका निर्णय भएको बताइएको छ ।
पत्रकारसँगको छलफलमा गाउँपालिकाका अध्यक्ष चौधरीले निर्वाचनमा नागरिकहरुसँग गरिएका प्रतिबद्धताहरु पूरा गर्दै लैजाने बताउँदै सामुदायिक पशु चौपाया व्यवस्थापनमालाई आम्दानीसँग जोडेर अगाडि बढ्ने बताएका छन् । “सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि कति बजेट आवश्यक पर्छ त्यसको मापदण्ड बनाएर अन्य छिमेकी पालिकासँग समन्वय गरेर अगाडि बढ्ने तयरी गरेका छौं । भएको खर्चबाट आम्दानी आउने गरि सामुदायिक पशु चौपाया व्यवस्थापनलाई जोड दिने योजना बनाएका छौं ।” गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “अब हाम्रो बजेट अनुत्पादक क्षेत्रका खर्च हुँदैन । लगानी गरेको क्षेत्रले मुनाफा पनि दिन सक्नुपर्यो ।”
सिकलसेल एनेमिया रोगबाट थारु समुदायमा ठूलो जोखिम ल्याएको बताउँदै कम्तीमा पनि गाउँपालिकामा चेकजाँच मेसिनसम्मको व्यवस्था गर्न सके ठूलो राहत हुनेअध्यक्ष चौधरीले बताएका छन् । ” अहिले सरकारले सिकलसेल भएका बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिँदै आएको छ । म गाउँपालिकामा आएको दुई हप्ता मात्रै भयो । यो अवधीमा सिकलसेल एनेमिया रोग पत्ता लागेका ७८ देखि ७९ जनाले सिफारिस लिसक्नु भएको छ ।” अध्यक्ष चौधरीले भने, “अन्य पालिकाहरुसँग अस्पतालको प्रस्ताव लिएर जान्छौं । छिमेकी पालिकाबाट पनि सहयोग भए अस्पताल नभए रोग पत्ता लगाउनको लागि चेकजाँच मेसिन सम्मको व्यवस्थापन गर्ने योजना बनाएका छौं ।”
स्थानीय उत्पादनमा जोड
गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले गाउँपालिकाका सबैजसो कार्यक्रमका खाजाको रुपमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताएका छन् । उनले स्थानीय उत्पादनलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने बताउँदै पुर्खाले सिकाएको कुराहरूलाई स्थापित गरेर त्यसैलाई रोजगारीसँग जोड्ने बताए । “आज जताततै फेसन छ, मम, चाउचाउ, चाउमिन अगायतकका फुड पोइजनहरुलाई हामिले खाजाको रुपमा ग्रहण गर्दै आएका छौं । यसले एकातिर हाम्रो स्वस्थ्यलाई कम्जोर पारिरहेको छ भने अर्कोतिर हाम्रो मौलिकतासँग जोडिएका खाना र खाजालाई बिर्सेर गएका छौं ।” अध्यक्ष चौधरीले भने, “एउटा चाउमिन पकाउने तालिममा राज्यले लाखौं रकम खर्च गर्छ । हामिले घरबाटै सिकेका कुराहरुलाई प्रबर्द्धन गर्नसक्यो भने एकातिर खर्च रोकिन्छ भने अर्कोतिर हाम्रो उत्पादनको प्रचारप्रसार र बजारीकरण हुन्छ । कुनै तालिम बिना, लगानी बिना रोजगारी सिर्जना हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *