शेयेर गर्नुहोस
टीकापुर ०५ माघ/
टीकापुर नगरपालिकाको कार्यपालिका सदस्यहरुलाई ६ एजेण्डा देखाएर २४ वटा निर्णय पास गरेको पाइएको छ ।
नगरपालिकाको पुस २१ गतेको कार्यपालिकाको बैठकका लागी ६ वटा एजेण्डाहरु कार्यपालिका सदस्यलाई एसएमएस मार्फत जानकारी गराएर त्यसबाहेकका २४ वटा निर्णय पास गरेको पाइएको हो । त्यो २४ वटा निर्णय भित्र परेको १८ जना ज्यालादारी कर्मचारी व्यवस्थापनको विषय अहिले निकै चर्चामा रहेको छ । नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोगतरुपमा कार्यपालिकाका सदस्यहरूलाई छलेर निर्णय गरेको आरोप लगाएका छन् ।
“हामीलाई पुस २० गते एसएमएस मार्फत २१ गतेको कार्यपालिकाको बैठकका एजेण्डा पठाइएको थियो । त्यो एजेण्डामा सहमति जनाउँदै म लगायत केही कार्यपालिका सदस्य त्यो बैठकमा उपस्थित भएका थिएनौं ।” नगर उपप्रमुख शाहले भने, “त्यहाँ त एजेण्डा एक, निर्णय अनेक भएछन् । जुन निर्णय हामीलाई पनि नगरपालिकाको वेबसाईटमा राखेपछि मात्रै थाहा भएको हो ।” उनले कार्यपालिकाको बैठकमा उठेका भन्दा थुप्रै विषयहरू निर्णयमा सार्वजनिक हुँदा थाहा हुने गरेको पनि बताए ।
“कार्यपालिका बैठक बसेको एक महिनापछि माइनटको क्लोजिङ्ग हुन्छ । उपस्थितिमा हस्ताक्षर हुन्छ तर निर्णय के लेखिन्छ त्यो बाहिर आएपछि मात्रै थाहा हुन्छ ।” उनले भने, “जति भन्दा पनि हाम्रो केही नलागेपछि अब बाध्य भएर बोल्नुपर्ने बेला आएको छ ।” टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ को दफा ४ को उपदफा १ मा प्राविधिक कर्मचारी राख्दा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक सेवा शर्त समेत तोेकी कम्तीमा १५ दिनको सूचना प्रकाशित गर्नुपर्ने उल्लेख छ । सोही दफाको उपदफा ३ मा श्रेणी बिहिन बाहेकका कर्मचारीहरुको सर्टलिस्ट,लिखित,मौखिक वा प्रयोगात्मक कुनै विधि प्रयोग गरि नियुक्ति गरिने उल्लेख गरिएको भएपनि नगरपालिकाले ज्यालादारी कर्मचारीहरु नियुक्त गर्दा श्रेणी समेत तोकेर नियुक्त गरेको छ । यो विषयले यतिबेला निकै चर्चा पाएको छ ।
वडा नं.१ का वडा अध्यक्ष मोहन बिकले असोज २ नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत आएदेखी विवाद बढ्दै गएको बताएका छन् । उनले अघिल्लो दिन एजेण्डा उठ्ने पछिल्लो दिन तिनै एजेण्डामा छलफल हुने गरेको भए पनि बाहिर सार्वजनिक हुँदा एजेण्डा भन्दा धेरै कुरा थपघट भएर सार्वजनिक हुन थालेको बताएका छन् । “नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ब्याक्तिवादी चिन्तनले सिंगो नगरपालिकामा समस्या भएको छ ।” उनले भने, “हाम्रा अधिकार कुण्ठित गर्ने काम भएका छन् । त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बेला आएको छ ।”
११ जना कार्यपालिका सदस्य निर्णयको विपक्षमा
नगरपालिकाले कर्मचारी व्यवस्थापन सम्बन्धि बनाएको कार्यविधि विपरीत कर्मचारी व्यवस्थापन हुँदा त्यसको विपक्षमा कार्यपालिका सदस्य नै देखिएका छन् । बिहिवार ११ जना कार्यपालिका सदस्यहरुले संयुक्त प्रेस बिज्ञाप्ति नै जारी गरेर त्यस निर्णयलाई सच्याउन माग समेत गरेका छ । कार्यपालिकामा भएका माओवादी केन्द्रका पाँच, नेपाली काँग्रेसका पाँच र एमालेबाट एक जना कार्यपालिका सदस्यले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत आफ्नो मनोगत रुपमा चलेको भन्दै आक्रोश समेत पोखेका छन् । १९ जनाको कार्यपालिकामा ११ जनाले आपत्ति जनाएपछि पुस २१ गतेको निर्णय कार्यान्वयनका लागि चुनौती भने देखिएको छ ।
प्रेस बिज्ञाप्तिमा भनिएको छ, ” नगरपालिकाको पुस २१ गतेको कार्यपालिकाको बैठकमा ६ वटा एजेण्डामा छलफल गर्ने विषयसुची भए पनि बैंककको एजेण्डा नबनेको विषयमा नगरपालिकाको वेबसाईटमा सार्वजनिक भएको २४ वटा निर्णयले अचम्मित बनाएको छ । पटकपटक कार्यपालिकालाई झुक्याएर कोठे बैठकबाट हाम्रा बिधान बिधमान कानिन र नगरपालिकालाई दीर्घकालीन आर्थिक दायित्व सिर्जना गर्नेगरी भएका निर्णयको हामी कार्यपालिका सदस्यहरु साक्षी हुन सक्दैनौं ।”
साथै पटकपटक नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका यस्ता हर्कतको घोर निन्दा एवम् भत्सर्ना गर्दछौं । ११ जना कार्यपालिका सदस्यको हस्ताक्षर सहितको बिज्ञाप्तिमा भनिएको छ । बिज्ञाप्तिमा नगर बासीको चिन्ता र सुझावलाई आत्मसात गर्दै गएको पुस २१ गते र विभिन्न समयमा भएका दीर्घकालीन र आर्थिक दायित्व सिर्जना हुनेगरि भएका निर्णयलाई सच्याउन लाग्ने विश्वास समेत ब्याक्त गरिएको छ ।
हस्ताक्षर गर्ने कार्यपालिका सदस्य कोको हुन
पुस २१ गतेको निर्णय माथी नागरिक उन्मुक्ति पार्टीका तीन जना कार्यपालिका सदस्यले पनि आपत्ति जनाउँदै आएका छन् । नगरपालिकामा सहभागी अन्य तीन दलले भने बिज्ञाप्ति मार्फत आपत्ति जनाइसकेका छन् । जसमा नेकपा माओवादी केन्द्रबाट नगर उपप्रमुख खडकबहादुर शाह, वडा नं. ७ का वडा अध्यक्ष यज्ञराज न्यौपाने, वडा नं.८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला, वडा नं. का वडा अध्यक्ष लौटन चौधरी र कार्यपालिका सदस्य लवरी चौधरी रहेका छन् । त्यसैगरी नेपाली काँग्रेसबाट वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरी, वडा नं. ३ का वडा अध्यक्ष ऋषी बिक, वडा नं. ६ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बलीराम चौधरी, कार्यपालिका सदस्य राजरानी चौधरी र रामबहादुर नगार्जी रहेका छन् । नेकपा एमालेबाट निर्वाचित वडा नं. १ का वडा अध्यक्ष मोहन विकले पनि उक्त निर्णयको विरोधमा हस्ताक्षर गरेका छन् ।
प्रबक्ताबाट बलीरामको राजीनामा
टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीलाई नगर प्रमुख रामलाल डंगौरा थारुलाई प्रबक्ताको जिम्मेवारी दिएको भएपनि उनले सो पदबाट राजीनामा दिइसकेको बताएका छन् । उनले प्रबक्ता नाममा मात्रै भएको र भुमिका प्रष्ट हुन नसक्दा राजीनामा दिएको बताएका हुन । “प्रबक्ताको काम कार्यपालिकाका निर्णय जनताको माझमा लैजाने हो । यहाँ कार्यपालिका आज बस्यो भने निर्णय गर्न एक महिना लाग्छ । त्यो पनि थाहा हुँदैन ।” उनले भने, “जहाँ काम नै हुँदैन त्यहाँ पद ओगटेर कुनै काम भएन भन्ने ठानेर मैले मंसिर २५ गतेको कार्यपालिका बैठकमै नगर प्रमुखलाई राजीनामा पत्र बुझाइसकेको छु ।” चौधरीको राजीनामा अहिलेसम्म स्वीकृत भने भएको छैन । उनले बजेटको मापदण्डमा रहेर नगरका गतिविधि सञ्चालन गर्नुपर्ने बताउँदै हालसम्म अवैधानिक रुपमा नियुक्त भएका सबै कर्मचारी हटाउनुपर्नेमा जोड दिएका छन् ।
टीकापुर नगर कार्य पालिकाको निर्णयका आधारमा १८ जनालाई कार्य बिधि उल्लँघन गरेर कर्मचारी भर्ना गरेको विषय स्थानिय सरकार सञ्चालन ऐन, सामान्य प्रशासन मन्त्रालयको परिपत्र र टीकापुर नगरपालिका करार प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यबिधि २०७५ को ठाडो उल्लंघ भएको भन्दै नेपाली काँग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै आपत्ति जनाएको छ ।










