शेयेर गर्नुहोस
झलनाथ खनाल,टीकापुर २३ असार /
कैलालीको टीकापुर केरा खेतीबाट निकै परिचित छ । अन्य उत्पादन भन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा दिनप्रतिदिन किसानहरूले गर्दै आएको केरा खेतीले टीकापुर खेराको हबको रुपमा विकास हुँदै गएको छ ।
टीकापुरमा केरा खेतीको सुरुवात ज्ञानी शाह र थोमस बर्गिजले गरेको सुन्नमा आउँछ । त्यसलाई व्यावसायिक रुपमा २०४० सालदेखि कालू हमालले निरन्तरता दिनुभयो । उहाँले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केरा लिएर व्यवसाय सुरु गरेको केरा व्यवसायी हमाल बताउनुहुँन्छ । केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौं किसानले व्यावसायिक केरा खेती गर्न सुरु गरेका छन् ।
“व्यवसायको सुरुवात १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो । बिचको समयमा अन्य व्यवसायहरु गरे । त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छोडे । अन्तिममा केरालाई नै निरन्तरता दिएको हु ।” हमाल भन्नुहुन्छ, “त्यो बेला म एक्लो थिए । केराको व्यवसाय गर्ने । अहिले म भन्दा कैयौं किसान केरा खेतीमा अब्बल भएर लाग्नुभएको छ ।” हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोड्नुभयो । केराको मात्रै परिकार पाइने बननाज रिसोर्ट निकै चर्चित छ । त्यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ । त्यतिमात्र होइन, टीकापुर आएको ब्याक्ती उहाँको बननाज रिसोर्ट नपुगेर विरलै फिर्ता हुन्छन् ।
“मैले लगाउने केरा आफ्नै रिसोर्टको लागि मात्र हो । फेरि मैले लोकल केरा लगाउँछु ।” हमाल भन्नुहुन्छ, “अहिले खेती भन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ । उहाँ राष्ट्रपतीबाट उत्कृष्ट कृषकको रुपमा सम्मानित समेत भैसक्नुभएको छ । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफल भन्दा बढीमा केरा खेती हुँदै आएको छ । यसवर्ष मात्रै दुई सय बिघा केरा खेती विस्तार भएको केरा व्यवसायी टेकेन्द्र धामी बताउनुहुन्छ । “किसानहरू केरा खेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटक सम्म आम्दानी हुने भएपछि नोक्सान पनि प्रायः हुँदैन ।” धामी बताउनुहुँन्छ, “फेरि टीकापुरमै सहज रुपमा केराको बेर्ना उपलब्ध हुने भएपछि र सरकारी निकायको सहयोग हुन थालेपछि केरा खेती फस्टाएको छ ।”
धामीले केराको बेर्ना टीकापुरमा उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्रि गर्दै आउनुभएको हो । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्रि गर्नुहुन्छ । यसवर्ष पनि उहाँले करिब दुई लाख केराको बिरुवा बिक्री गरिसकेको बताउनुभयो । “गत वर्ष तीन लाख बिरुवा बिक्रि भएको थियो । यसवर्ष पनि त्यो भन्दा बढी बिक्रि हुन्छ होला ।” व्यवसायी धामी भन्नुहुन्छ, “खेरा खेती गर्ने सिजन भरखर सुरु भएकोले खपत कम देखिएको हो । अझै बढ्छ ।”
केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरबाट सबैभन्दा बढी निर्यात हुनेमा केरा हो । टीकापुरमा उत्पादन भएको केरा कैलाली जिल्लासँगै बर्दिया, बाके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौंसम्म निर्यात हुने गरेको छ । “प्राकृतिक विपती नआए केरामा जस्तो राम्रो आम्दानी अन्य क्षेत्रमा छैन । एक बिघामा १० देखि १५ लाखसम्मको केरा उत्पादन गर्न सकिन्छ ।” व्यवसायी राजकुमार चौधरी भन्नुहुन्छ, “बजारीकरणको समस्या छैन । व्यापारी बारीमै आएर केरा लिन्छन् । नगदमा कारोबार हुन्छ, राम्रो छ ।”
केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले किसानलाई सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाईले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाईका सुचना अधिकारी दिलिपजंग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले ६० लाख बजेट विनियोजन गरेको बताउनुभयो । “यसवर्ष हाम्रो कमाण्ड क्षेत्रभित्र ६० हेक्टर क्षेत्रफलमा केरा खेती विस्तारको लक्ष्य लिएका छौँ । अहिले किसानहरूले केरा खेतीका लागि कार्यालयमा आएर सम्झौता गर्ने काम भैरहेकोले कति हुन्छ, एकिन भन्न सकिने अवस्था छैन ।” सुचना अधिकारी राना भन्छन्, “हामीले वर्षमा ६० देखि ७० हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार गर्ने लक्ष्य राखेका हुन्छौं । त्यो लक्ष्य पूरा पनि हुँदै आएको छ ।”
कार्यान्वयन इकाईले टीकापुरमा विषादी रहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । जसमा कार्यान्वयन इकाईको एक करोड ९० लाख रुपैयाँ खर्च भएको छ भने उपभोक्ताको एक करोड ५० लाख रुपैयाँ खर्च भएको छ । निर्माण सम्पन्न भएको चार वर्ष हुनलाग्दा पनि च्याम्बर पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । च्यामबरमा पकाएको केरा बजार पुर्याउँदासम्म महंगो हुन थालेपछि व्यापारीहरुले केरा किन्न छोड्दा केही महिना सुरु भएको च्याम्बर बन्द भएको हो ।
“केरा बजारीकरणमा समस्या भएपछि च्याम्बर बन्द गर्न बाध्य भएका थियौं । त्यहाँ पकाएको केरा टीकापुर बाहिर पुर्याउन नसकिने, बजारमा बिक्रि नहुने भएपछि बन्द भएको हो ।” च्याम्बर सञ्चालक सीलाकान्त झा भन्नुहुन्छ, “अब नयाँ विकल्पका साथ केही दिनमै च्याम्बर सञ्चालनमा ल्याउँछौं ।” च्याम्बरमा पकाएको केराको बजारीकरण हुन नसके त्यसलाई सुकाएर राख्ने मेसिन च्याम्बर सञ्चालकहरुले जडान गर्न थालेका छन् । सुकाएको केरा ६ महिनासम्म राख्न सकिने छ । त्यसैमा केराका अन्य परिकारहरु तयार गरेर त्यसको बजारीकरणको तयारी भैरहेको झाले बताउनुभयो । केराको अन्य परिकार तयार पारेर बजारीकरण गर्न सके त्यसबाट टीकापुरलाई केराको हबको रुपमा चिनाउन सकिने व्यवसायीहरु बताउँछन् ।