शेयेर गर्नुहोस
समाधान समाचार
टीकापुर १८ साउन/ आइतबार कैलालीमा मात्र ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशभरी ४८ जनामा कोरोना पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज ४८ जनामा कोरोना पुष्टि भएको हो।चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षण्मा दार्चुृलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा पनि कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको बर्दगोरी गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए।उनका अनुसार धनगढी उप–महानगरपालिकाका दुई जना पुरुष, घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाका एक/एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ। बैतडीको पाटनका २६ बर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। ४८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।