शेयेर गर्नुहोस
टीकापुर ०८ वैशाख /
एक दशक भन्दा लामो समयदेखि टीकापुरमा कोरियन भाषा सिकाउँदै आएको टीकापुर ट्युसन सेन्टरले २०२४ मा मात्रै दुई सय भन्दा बढिलाई उतिर्ण गराउन सफल भएको छ ।
दक्षिण कोरियामा माग भएअनुसार उत्पादन र पानी जहाज क्षेत्रमा दुई सय २४ जना प्रशिक्षार्थी उतिर्ण गराउन सफल भएको हो । त्यसैअनुरूप सेन्टरबाट २०२४ मा कोरियन भाषामा उतिर्ण प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका बीच बधाई तथा शुभकामना व्यक्त गरिएको छ । हालसम्म सेन्टरले विभिन्न क्षेत्रमा हजारौं युवाहरूलाई कोरिया पठाइसकेको छ । वार्षिक दुई सय भन्दा बढी युवा सेन्टरमै अध्ययन गरेरै रोजगारीका लागि कोरिया पुग्ने गरेका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले देशका लागि आवश्यक दक्ष जनशक्ति रोजगारीकै लागि विदेशिनु विडम्बनाको विषय बनेको बताएका छन् । उनले देशको समृद्धिमा युवा जनशक्तिको भुमिका महत्त्वपूर्ण हुने बताउँदै स्वदेशमा सम्भावनाका क्षेत्रहरुको उजागर हुनुपर्नेमा जोड दिएका छन् ।
“एउटा युवा सक्षम बन्यो अनि विदेशतिर लाग्यो, आजभोलिको नियती त्यस्तै बनेको छ ।” नगर प्रमुख थारुले भने, “यसबाट न समृद्धि आउँछ, न देशमा सम्भावनाका ढोका खुला हुन सक्छन् ।” उनले देशलाई आत्मनिर्भर बनाउन नसक्नुका पछाडि धेरै कारणहरु रहेको बताउँदै त्यसमा आफुहरु पनि जिम्मेवार रहेको बताएका छन् । युवाहरूको आवाज सुन्ने शक्ति आज पनि नेपाल सरकारसँग नभएको बताउँदै नगर प्रमुख थारुले विदेशबाट फर्केपछि त्यहाँ सिकेको सीप आफ्नै देशमा सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल, टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरी, वडा नं.३ का अध्यक्ष ऋषी विक, वडा नं. ६ का वडा अध्यक्ष बलिराम चौधरी लगायतको सहभागिता रहेको थियो । सेन्टरका प्रबन्ध निर्देशक सुरेश कुमार कठरियाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत हरिकृष्ण कठरियाले गरेको कार्यक्रमको सञ्चालन विक्रम चौधरीले गरेका थिए ।