कोरोनाको त्रास समुदायम, स्थानीय सरकार गैर जिम्मेवार

शेयेर गर्नुहोस

झलनाथ खनाल
टीकापुर १९ साउन
/भारत तथा तेस्रो मुलुकबाट प्रवेश गर्ने नागरिकहरुलाई बिना परीक्षण होम क्वारेन्टाइनमा पठाइँदा समुदाय स्तरमा कोरोना भाइरसको त्रास बढ्दै गएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ का पूजा साउँदले भारतबाट आफन्तहरु आइरहेको र उनीहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने भन्दै टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई फोन गरिन् । फोनमा रावलले ढुक्कसँग भारतबाट आएका नागरिक–हरुलाई घरमा राख्न भनेपछि घरमा मात्र नभई समुदाय स्तरमा समेत त्रास बढेको उनी बताउँछिन् । ‘घरमा सुरक्षित त राखिएला । तर, साना बालबालिकाहरुलाई घरमा व्यवस्थापन गर्न चुनौती छ ।’ उनले भनिन्, ‘हामी १४ दिन क्वारेन्टाइनमै राख्न चाहन्थ्यौं । तर, नगरपालिकाले घरमै राख भन्यो ।’
अहिले पूजाका आफन्तमात्र नभई सबै समुदायहरुमा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा पठाउँदा त्रास मात्र बढेको छैन । उनीहरुमा कोरोना संक्रमण पुष्टि हुँदै जाँदा कसैको कन्ट्याक्ट टे«सिङ पनि स्थानीय तहले गर्न सकेका छैनन् । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले शिक्षा तथा स्वास्थ्य मन्त्रालयले विद्यालयमा बनाइएका क्वारेन्टाइन खाली गर्नुपर्ने भनेका कारण आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा पठाउने गरेको बताएका छन् । ‘सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने भन्छ । शिक्षा र स्वास्थ्य मन्त्रालय क्वारेन्टाइन खाल गर्न निर्देशन दिन्छन् ।’ स्वास्थ्य शाखा प्रमुख रावलले भने, ‘कसको कुरा मान्ने ? भदौ १ बाट विद्यालय सञ्चालन गरिने भएका कारण क्वारेन्टाइनको दोस्रो बिकल्प नहुँदा पनि होम क्वारेन्टाइन पठाउने गरेका हौं ।’
हाल टीकापुर नगरपालिकामा एकमात्र क्वारेन्टाइन रहेको छ । कर्णाली माध्यमिक विद्यालय सत्तीको क्वारेन्टाइनमा ८ जना बसेका छन् भने अरु सबै क्वारेन्टाइन खाली भएका छन् ।
त्यस्तै, जानकी गाउँपालिकाले भने भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको कोरोना रिपोर्ट नआएसम्म घर नपठाएको बताएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले घरमा सुरक्षित बस्न सकिने वातावरण भएका नागरिकहरुलाई निगरानीमा रहने गरी गाउँपालिकाले सम्झौता गर्ने र घर पठाउने गरेको बताउँदै घरमा सुरक्षित बस्न सक्ने वातावरण नभएका नागरिकहरुलाई सरस्वती माध्यमिक विद्यालय दुर्गौलीको क्वारेन्टाइनमा राख्दै आइएको बताएका छन् ।
‘हामीले सुरक्षाको दृष्टिकोणलाई हेरेर मात्र भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक–हरुलाई व्यवस्थापन गर्ने गरेका छौं ।’ स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, ‘क्वारेन्टाइनमा बस्न चाहनेलाई १४ दिनसम्म क्वारेन्टाइनमै राख्छौं । होम क्वारेन्टाइनमा बस्न चाहने नागरिक–हरुलाई मापदण्डअनुसार घरमै बस्न दिएका छौं ।’
भजनी नगरपालिकाले पनि भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकहरुलाई होम क्वारेन्टाइनमै पठाउन थालेको छ । नगरपालिकामा अहिले एउटा पनि क्वारेन्टाइन छैन । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कीर्ति बि.क.ले सुरक्षा मापदण्ड अनुसार सबैलाई होम क्वारेन्टाइन पठाइएको जानकारी दिएका छन् । ‘भदौ १ गतेभित्र सबै विद्यालय खाली गराउनु पर्ने भन्ने थियो । त्यहीअनुसार पनि हामीले क्वारेन्टाइन खाली गराएका हौं ।’ स्वास्थ्य शाखा प्रमुख बि.क.ले भने, ‘घर पठाइएका नागरिक–हरुलाई २१ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनेका छौं र सबैको पीसीआर जाँच गर्दै आएका छौं ।’
उनले वर्षात्को समयमा बाढी र डुबानका कारण नगरपालिका पूरै प्रभावित भएको भन्दै स्थानीय नागरिकहरुलाई समेत विद्यालयमै व्यवस्थापन गर्नुपर्ने भएका कारण पनि क्वारेन्टाइन खाली गराइएको बताएका छन् ।
उता, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई जुनसुकै हालतमा पनि १४ दिन संस्थागत क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् । ‘हामीले ८८ वटै स्थानीय तहलाई परिपत्र गरिसकेका छौं । १४ दिन बाहिरी देशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नुस् भनेर ।’ डा. अवस्थीले भने, ‘हामीले निर्देशन दिने हो । उक्त निर्देशनको कार्यान्वयन गर्ने÷नगर्ने कुरामा स्थानीय तह नै जिम्मेवार हुनुपर्दछ । ’
उनले होम क्वारेन्टाइनमा पठाउँदा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलन सक्ने उच्च जोखिम रहेको भन्दै दिएको निर्देशनको कार्यान्वयन नगर्ने स्थानीय तहले पछि आउने परिणामको जिम्मेवारी पनि स्वयम् आफैले लिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *