शेयेर गर्नुहोस
टीकापुर २३ माघ/
सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले टीकापुर बहुमुखी क्याम्पसका लागि अतिक्रमित जग्गा मुख्य समस्या भएको बताएका छन् ।
टीकापुर बहुमुखी क्याम्पसको २४ औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्नुहुँदै उपकुलपति पन्तले क्याम्पसको समग्र विकासका लागि क्याम्पसको अतिक्रमित जग्गा ठूलो समस्या भएको बताएका हुन । “यो क्याम्पस निकै ठूलो सम्भावना बोकेको क्याम्पस हो । त्यो सम्भावनासँग क्याम्पसको अतिक्रमित जग्गा ठूलो समस्या बनिरहेको छ ।” उनले भने, “त्यसको निकासको लागि विश्वविद्यालयले पहल गरिरहेको र यहाँका नागरिकहरुले पनि त्यसमा साथ दिनुपर्छ ।”
सुदुरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर विनोद लेखकले टीकापुर बहुमुखी क्याम्पसको विकासको लागि आवश्यक सहयोग गर्ने बताउँदै त्यसको लागि आफ्ना शैक्षिक विकासका कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले शैक्षिक कार्यक्रमलाई सशक्त बनाउँदै गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
वार्षिकोत्सव कार्यक्रममा सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावल, समाजसेवि श्याम खत्री, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, विरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारी, खड्ग मेमोरीयल स्कुलका प्रधानाध्यापक हिरण्डे प्रसाद शर्मा, प्राध्यापक संघका सभापति प्रेमप्रसाद भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी स्ववियु सभापति किरण साउँद, पूर्व स्ववियु सभापति नृपजंग थापा, नेविसंघका मिनराज साउँद, अनेरास्ववियुका यमराज साउँद, अखिल क्रान्तिकारीका मिनबहादुर खड्का, नागरिक विद्यार्थी समाजका अशोक चौधरीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन उमाकान्त भण्डारीले गरेका थिए भने
कार्यक्रमको स्वागत सहायक क्याम्पस प्रमुख आत्मराम अधिकारीले गरेका थिए । क्याम्पसको आर्थिक वर्ष २०८१/०८२ को आयव्यय सार्वजनिक गरिएको छ । क्याम्पसको आयव्यय प्रतिवेदन अनुसार ७ लाख ३७ हजार ७ सय १९ रुपैयाँ ५४ पैसा नोक्सानीमा रहेको देखिएको छ । आयतर्फ क्याम्पसले शुल्कबाट एक करोड २२ लाख ७० हजार ८० रुपैयाँ, तलबभत्ताको लागि अनुदान निकासा तीन करोड ७३ लाख ७२ हजार ८ सय २० रुपैयाँ ६७ पैसा र अन्य आम्दानी (ब्याज, कृषि तथा अन्य) बाट ४४ लाख ९७ हजार ६ सय ५४ रुपैयाँ ७१ पैसा गरी पाँच करोड ४१ लाख ४० हजार पाँच सय पाँच रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यसैगरी खर्चतर्फ पुँजीगत खर्च एक करोड ७८ लाख चार हजार ८० रुपैयाँ ६४ पैसा, प्रशासनिक खर्चतर्फ ६० लाख ७९ हजार दुई सय ६५ रुपैयाँ २२ पैसा, तलबभत्ता तथा कर्मचारी खर्चमा चार करोड ६२ लाख चार सय ७९ रुपैयाँ ६ पैसा र अन्य सञ्चालन खर्चमा ८ लाख १४ हजार चार सय ५० रुपैयाँ गरी पाँच करोड ४८ लाख ७८ हजार दुई सय ७४ रुपैयाँ ९२ पैसा खर्च भएको देखाइएको छ । क्याम्पसले चालु आर्थिक वर्षको स्वीकृत बजेट ६ करोड ९५ लाख ३९ हजार पाँच सय रहेको बताइएको छ ।
स्थायी, पूर्णकालिन र आंशिक करार गरी ४० जना प्राध्यापक र १७ जना कर्मचारी गरी जम्मा ५७ जना जनशक्ति कार्यरत रहेको जानकारी गराईएको छ । क्याम्पसमा अहिले ८ जना विद्यावारीधी गरेका र ६ जना विद्यावारीधी गर्दै गरेको जनशक्ती रहेको समेत क्याम्पस प्रमुख रावलले जानकारी दिएका छन् ।
वार्षिकोत्सवमा क्याम्पसले प्रकाशन गरेको जर्रनल अफ टीकापुर मल्टिपल क्याम्पसको ९ औं अंक र टीएमसी सौगातको १६ औं अंकको लोकापर्ण गरिएको छ ।
तर, क्याम्पसमा बिद्यार्थीको संख्या भने निकै कम देखिएको छ । क्याम्पस प्रमुख ढविन्द्र रावलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार हाल क्याम्पसमा एक हजार दुई सय ६२ जना अध्ययनरत रहेका छन् । क्याम्पस प्रमुख रावलले क्याम्पस क्युएएको तेस्रो चरणमा रहेको बताइएको छ ।










