क्षमता विकास तालीम सुरु

शेयेर गर्नुहोस


टीकापुर ०४ बैशाख /
निजि तथा आवासीय बिधालय अर्गनाइजेसन प्याब्सनको टीकापुर स्थानीय पालिका स्तरीय दुई दिने कार्यक्षमता विकास तालिम सुरु भएको छ ।
प्याब्सन टीकापुर स्थानीय पालिकाको आयोजनामा भएको तालिममा इसिडी कक्षामा अध्यापन गराउने ७० भन्दा बढी शिक्षकहरूको सहभागितामा तालिम सुरु भएको हो । अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले असल शिक्षक बन्न निकै कठिन भएको बताएका छन् । उनले प्रविधिको प्रयोग गरेर पनि थुप्रै शिक्षण सिकाई गर्न सकिने बताउँदै अवस्थीले शिक्षण सिकाइले बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताएका छन् ।
“इसिडी कक्षाका बालबालिकाहरुलाई पठनपाठन गर्न निकै कठिन छ । इसिडी कक्षाले बालबालिकाको भविष्यलाई नै निर्धारण गर्ने भएको हुँदा पनि त्यसमा शिक्षण गर्नु निकै चुनौतीपूर्ण छ ।” अवस्थीले भने, “उसो त शिक्षण पेशा आफैमा चुनौतीपूर्ण पेशा हो । बिद्यार्थीको विश्वास आमाबुबा भन्दा शिक्षकमा बढी हुने गर्छ ।” उनले बिद्यार्थीहरुले उत्कृष्ट अंक ल्याउँदैमा त्यसलाई गुणस्तर मान्न नसकिने बताउँदै बिद्यार्थीको सकारात्मक चरीत्र निर्माण हुन सके त्यसलाई गुणस्तर भन्न सकिने बताएका छन् ।
कार्यक्रममा प्याब्सनका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष डम्बरबहादुर सोडारीले शैक्षिक गुणस्तरका लागि शिक्षकको क्षमता विकास आवश्यक हुने बताएका छन् । जिल्ला उपाध्यक्ष जयकृष्ण तिमिल्सिनाले शिक्षण सिकाईबाट बिद्यार्थीहरुलाई प्रदान गर्ने सिपमा झन निखारता आउने विश्वास व्यक्त गरेका छन् । उनले तालिमले शिक्षकलाई सक्षम बनाउने भन्दै सक्षम शिक्षकले बिद्यार्थीहरुलाई सक्षम बनाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा प्याब्सनका कैलाली जिल्ला सचीव चेतराज देवकोटा, प्रशिक्षक हिरा केसी सुवेदी, पुर्व शिक्षा समिति सदस्य देवकला विष्ट लगायतले धारणा राखेका थिए । प्याब्सन टीकापुर पालिकाका सचीव रमेशबहादुर शाहीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष देवेन्द्र बहादुर शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *