क्षेत्र घ सम्मेलनमा जुट्यो टीकापुर जेसीज

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ११ साउन /
नेपाल जेसीजको आयोजनामा भदौ २४ र २५ गते टीकापुरमा हुने क्षेत्र ‘घ’ सम्मेलनको तयारीमा टीकापुर जेसीज जुटेको छ ।
पूर्व नवलपसारीदेखि पश्चिमको महाकालीसम्मका ५५ शाखाहरुको सहभागितामा हुने क्षेत्र ‘घ’ सम्मेलनको तयारीमा टीकापुर जेसीज जुटेको हो । टीकापुर जेसीजले सम्मेलनको तयारीका लागि विभिन्न समितिहरु गठन गरेको छ । टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.का अनुसार हाल ७ वटा समितिहरु गठन गरेर तयारी थालिएको हो ।
टीकापुर जेसीजका पूर्व अध्यक्ष नवराज रावललाई गत वर्ष नै सम्मेलन निर्देशकको जिम्मेवारी दिएको थियो । सम्मेलनको उपनिर्देशकमा पूर्व अध्यक्षद्वय किर्तीसिंह बम र जगदिश्वर पण्डित चयन गरिएको छ । त्यस्तै आर्थिक समितिको संयोजकमा निवर्तमान अध्यक्ष लक्ष्मण थापा, स्मारिका प्रकाशन समितिको संयोजकमा मानार्थ सदस्य पृथ्वीराज ढुंगानालाई चयन गरिएको छ । त्यस्तै प्रसार प्रसार समितिको संयोजकमा भरत भण्डारी, दर्ता तथा रजिष्ट्रेसन समितिको संयोजकमा कोषाध्यक्ष कमलराज सुवेदीलाई जिम्मेवारी दिइएको छ ।
विभिन्न समितिहरुले आफ्नो काम शुरु गरिसकेको अध्यक्ष वि.क.ले जानकारी दिए । उनका अनुसार यतिबेला टीकापुर जेसीजको टिम आर्थिक संकलन, स्मारिका प्रकाशन तथा विभिन्न क्षेत्रसँग छलफलमा जुटेको छ । सम्मेलनका निर्देशक रावलका अनुसार देशभरका एक हजार बढी युवा व्यवसायी तथा उद्यमीहरु टीकापुरमा आउने कार्यक्रममा ९० लाखको बजेट खर्च हुनेछ भने झण्डै २ करोड बढीको आर्थिक कारोवार हुनेछ ।
आर्थिक सहयोग संकलनका लागि रावलसहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलसँग छलफल गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावल र राज्यमन्त्री अमर साउँद, पर्यटन मन्त्रालयका सचिव देवेशमणी त्रिपाठी लगायतसँग क्षेत्र ‘घ’ सम्मेलनका लागि छलफल गरिएको हो ।
यसअघि टीकापुर जेसीजले सम्मेलनको तयारीका लागि छिमेकी शाखाहरुसँग समेत अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा नारायणपुर, बौनियाँ, जोशीपुर, लम्की, घोडाघोडी र जानकी जेसीजका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा छिमेकी शाखाहरुले सम्मेलन सफल पार्न आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस अघि सन् २००१ मा टीकापुर जेसीजले पहिलो पटक क्षेत्र ‘घ’ सम्मेलन गरेको थियो । जेसीजका अध्यक्ष वि.क.ले २१ वर्षपछि हुन लागेको सम्मेलनमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *