शेयेर गर्नुहोस
टीकापुर २७ असोज /
श्री खड्ग स्मृति माध्यामिक विद्यालयको शैक्षिक वर्ष २०७९ तथा आर्थिक वर्ष २०७९/०८० सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर उप प्रमुख खडक बहादुर शाहले हाम्रो शिक्षा प्रणाली कम्जोर हुदै गइरहेको बताएका छन् । उनले शिक्षा प्रणालीलाई सुधार गर्न पहिले आफुबाटै पहल गर्न जरुरी रहेको बताउँदै अरु अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई आफु अध्यापन गराउने विद्यालयमा अध्यापन गराइ आफ्नो विद्यालयको पठनपाठन गुणस्तरीय छ भन्ने कुराको भरोसा दिलाउन जरुरी रहेको बताएका छन् । “हाम्रो समस्या हामी आफैसँग छ र त्यसको समाधान पनि हामी आफै हाैँ ।” उनले भने । हाम्रा अभिभावकले हप्तामा १ दिन मात्र पनि विद्यालय भ्रमण गर्ने हो भने विद्यालयको शिक्षण अवस्था लगायत अन्य अवस्थामा सुधार आउन समय नलाग्ने बताए ।
“विद्यार्थीको असल गहना अनुशासन हो, विद्यार्थीमा अनुशासन भए असल हुन्छ, असल भएको विद्यार्थी क्षमतावान हुन्छ ।” उनले भने । हाम्रो विद्यालयलाई राम्रो विद्यालय बनाउन शिक्षकहरुले मात्र गरेर केही नहुने बताउँदै त्यसका लागि अभिभावकहरुले पनि विशेष भुमिका खेल्नु पर्ने बताए । उनले आगामी शैक्षिकसत्रदेखि नैतिक शिक्षा लागु गरिने समेत बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत नरेश अवस्थीले समयमै सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद दिदै सामाजिक लेखापरीक्षणमा अभिभावकहरुले आर्थिक पाटोलाई मात्र नहेरी शैक्षिक गुणस्तर कुरा, विद्यालयका अन्य संरचना, शिक्षक-शिक्षिकाहरुको दैनिकी उपस्थिति लगायत यावद कुराहरू अभिभावकहरुले जान्न जरुरी रहेको बताए । उनले विद्यालयमा विद्यार्थीको संख्या अनुसार शिक्षक संख्या कम भएको भन्दै अझै विद्यालयमा करिब ८ देखि १० जना शिक्षक संख्या थप गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले वर्ष भरिको कर्य के कस्तो भयो भनेर अभिभावक लगायत अन्य सरोकारवालाहरुलाई विद्यालयको शिक्षक अवस्था लगायत अन्य कुरा राख्ने दिवसका रुपमा सामाजिक लेखापरीक्षणलाई लिन सकिने बताए । उनले सामुदायिक विद्यालयहरुमा अभिभावकहरुको धेरै कम्जोर हुने गरेको बताउँदै सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थी नि:शुल्क भर्ना हुने भएका कारण विद्यालय र विद्यार्थीमा अभिभावकहरुले धेरै चासो नदिने गरेको बताएका छन् ।
कार्यक्रममा सामाजिक परिक्षण प्रतिवेदन सामाजिक परीक्षण समितिका बुद्धिजीवी सदस्य भक्तिराम कोइरालाले प्रस्तुत गरेका थिए । प्रतिवेलन अनुसार विद्यालय २०९ दिन खुलेको छ भने १९१ दिन विद्यालयमा खुद पढाई भएको छ । गत आर्थिक वर्षमा विद्यालयले २ करोड ३० लाख ४९ हजार ३ सय ३९ रुपैयाँ ०२ पैसा बराबरको आय व्याय प्रस्तुत गरिएको थियो । विद्यालयमा हाल बाल विकास केन्द्र देखि कक्षा १२ सम्म गरि जम्मा एक हजार ८ सय ३८ जना विद्यार्थी संख्या रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्यालयले विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्पुटन गर्न विभिन्न कार्यक्रम संचालन गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा सामाजिक परीक्षण समिति सदस्य तथा कक्षा १० मा अध्यानरत विद्यार्थी सृष्टि बोगटी, हिमालय माध्यमिक विद्यालय घियाका प्रधानाध्यापक बुद्विराम चाैधरी, जनजागृति माध्यामिक विद्यालयकी निवर्तमान प्रधानाध्यापक ललिता शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रमको शिक्षक हृदयराज रेग्मी सञ्चालन गरेको कार्यक्रमको स्वागत प्रधानाध्यापक केशर बहादुर रावलले गरेका थिए ।