खेलाडीहरुलाई जीवन निर्वाह गर्न निकै मुस्किल

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २३ फागुन /
सुदुरपश्चिमका लागि भलिबल खेलाडी महेश खत्रीको नाम नौलो नाम होइन । सुदुरपश्चिम प्रदेशमा हुने जुनसुकै ठाउँको भलिबल प्रतियोगितामा पनि महेशको नाम आउँछ । दुईवर्ष सुदुरपश्चिम भलिबल टिमको कप्तानको भुमिका निर्वाह गरिसक्नुभएका खत्री आफ्नो भविष्य प्रती निकै चिन्तित हुनुहुन्छ । खेलाडीहरुलाई राज्यबाट हुनसक्ने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उहाँ बताउनुहुँन्छ ।
“१४ वर्षको उमेरदेखि भलिबल खेल खल्न सुरु गरियो । नेपालमा मात्रै नभई भारतका थुप्रै शहरमा भलिबल खेल्ने अवसर पाए ।” महेश भन्नुहुन्छ, “उर्जावान समय सकिँदै जाँदा चिन्ता बढ्दै गएको छ । चाहेर अन्य काम गर्न सक्ने स्थिति नहुनु, राज्यबाट कुनै संरक्षण नहुँदा जीवन अन्योलमा छ ।” बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ७ मा जन्मिनुभएका खत्री भौगोलिक विकटताका कारण पनि राम्रा खेलाडीहरु अवसरबाट बञ्चित हुँदै आएको बताउनुहुँन्छ । खेलकुदमा राज्यको लगानी अझै हुन नसकेको भन्दै खत्रीले सुदुरपश्चिममा एउटा खेलकुद मैदान समेत निर्माण हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।
उहाँका अनुसार सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको गठन पछि खेलाडीहरुलाई खेल क्षेत्रको विकासमा आशा जागेको छ । “खेलकुद परिषदले खेल र खेलाडीको मर्म बुझेको छ । हिजोका खेलकुद गतिविधिलाई हेर्दा आज खेलकुदका गतिविधिमा परिषदले भुमिका खेल्न थालेको छ ।” महेश भन्नुहुन्छ, “आशा जागेको छ । सन्तुष्ट हुने वातावरण चाहिँ बनिसकेको छैन । खेलाडीहरु उत्पादन र उत्पादन भएका खेलाडीको संरक्षण हुन जरुरी छ ।”
डडेल्धुरा जोगबुडाका सुरेन्द्र बम दुईपटक अन्तरास्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुनुभयो । उहाँले बंगलादेशमा भएको भलिबल प्रतियोगितामा सहभागिता जनाउनुभएको हो । तीन वर्ष एपीएफको राष्ट्रिय टिमबाट भलिबल खेल्नुभएका सुरेन्द्रले तीन वर्ष सुदुरपश्चिम प्रदेशको टिमबाट भलिबल खेल्नुभयो । भलिबलका लागि निकै चर्चित सुरेन्द्र १८ वर्षको उमेरदेखि भलिबल प्रतियोगितामा सहभागी भएको बताउनुहुँन्छ । “कुनै बेला लाग्थ्यो मेरो शरीरको नशामा पनि भलिबल छ । भलिबल भने खाना चहिदैनथ्यो ।” सुरेन्द्र भन्नुहुन्छ, “समय बित्दै जाँदा विभिन्न समस्याले घेराबन्दी गर्न थालेपछि अहिले पछुतो पनि लाग्छ ।”
खेलाडीहरुका लागि नेपालमा उचित वातावरण बन्न नसकेकै कारण कैयौं खेलाडीहरु पलायन भएको बताउँदै सुरेन्द्रले राम्रा खेलाडीहरुलाई राज्यले राम्रो पारिश्रमिक दिएर व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । “प्रतियोगिता हुँदैनन् । प्रतियोगिता भएपनि खेलाडीहरुको पारिश्रमिक सुनिश्चित हुँदैन । कतिपय प्रतियोगितामा आयोजकले तोकेको पुरस्कार नदिएका उदाहरण पनि छन् ।” सुरेन्द्रले भन्नुभयो, “सयम बित्दै गएको छ । परिवारलाई खुशी बनाउन सकिएको छैन । खेल्न छोडौ भने अन्य सीप पनि आफुसँग छैन ।”
कैलालीको जानकी गाउँपालिकाका विष्णु भाट पनि भलिबलका लागि निकै चर्चित नाम हो । राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदै भलिबलको राष्ट्रिय रेफ्रीको रुपमा काम गर्दै आउनुभएका भाटले पनि खेलाडीले खेलसँगै व्यावसायिक पेसासँग जोडिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले स्थानीय सरकारलले आयोजना गर्ने खेलकुद प्रतियोगितालाई मनोरञ्जनको रुपमा नभई खेलाडी उत्पादन गर्ने गरी आयोजना गर्नुपर्ने समेत बताउनुभयो ।
“अहिले जति पनि प्रतियोगिताहरु आयोजना हुन्छन् । ती सबै मनोरञ्जनका लागि हुने गरेका छन् । जनशक्ति उत्पादनतर्फ ध्यान अझै पुग्न सकेको छैन । खेलकुदलाई व्यावसायिक बनाउन सकिएको छैन ।” विष्णुले भन्नुभयो, “एकातिर खेल क्षेत्रमा खेलाडीको भविष्य सुनिश्चित नहुनु । अर्कोतिर नयाँ खेलाडी उत्पादनमा सरकार जिम्मेवार नहुने हो भने खेल क्षेत्र नै धरापमा पर्न सक्ने चिन्ता छ ।” उहाँले स्थानीय क्षेत्रमा खेलकुदका गतिविधि सञ्चालन हुन नसकेकै कारण युवाहरू लागुऔषध दुर्व्यसनमा फस्दै गएको बताउनुभयो ।
उता, सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचीव दिपक सिंहले खेलाडीहरुलाई व्यावसायिक खेलकुदमा जोड्ने गरी काम भैरहेको बतानुभएको छ । प्रदेशस्तरमा खेलकुद प्रतियोगिताहरुलाई प्रोत्साहन गर्नुका साथै खेलकुद मैदान निर्माणलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको सदस्य सचीव सिंह बताउनुहुँन्छ । “कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुरमा खेलकुद रंगशाला निर्माणको काम सुरु गरेका छौं । अन्य खेलकुदको प्रदेश कार्यविधि बनाउने काम भैरहेको छ ।” सिंह भन्नुहुन्छ, “यसले खेल क्षेत्र र खेलाडीहरुको संरक्षण र व्यावसायिकिकरणमा सहयोग पुग्ने विश्वास लिएका छौं ।”
सदस्य सचीव सिंहले जनशक्ति र बजेटको अभावका कारण खेलाडीहरुको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै त्यसको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग समन्वय भैरहेको बताउनुभयो । “जनशक्तिको अभाव, सिमित बजेटले धेरै काम गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि खेलाडीहरुको मर्मअनुसार काम गर्न सकिएको छैन ।” परिषदका सदस्य सचीव सिंहले भन्नुभयो, “त्यसका बाबजुद पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका छौं । मुख्यमन्त्री कपको तयारी हुँदैछ । प्रदेशमा ११ बिधाका खेललाई परिषदले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *