गुलाब रोपेको ठाउँमा वृक्षरोपण

शेयेर गर्नुहोस


टीकापुर १७ चैत /
टीकापुर नगरपालिकाको गुलाब अभियान अन्तर्गत गुलाब रोपिएका ठाउँमा वृक्षारोपण सुरु भएको छ ।
जमरा पुलदेखी बसपार्क सम्मको दुबै भागको डिभाइडरमा तारजाली लगाउने काम भएसँगै सो क्षेत्रमा वृक्षरोपण सुरु गरिएको हो । यसअघि सो क्षेत्रमा नगरपालिकाले गुलाब रोप्न सुरु गरेको थियो । नगरपालिका भित्रका बिधालयलाई भागबन्डा गरेर क्षेत्र निर्धारण गरेको भए पनि केही बिधालयले उक्त अभियानमा साथ नदिएपछि नगरपालिका सो अभियानमा असफल भैसकेको छ । सस्तो लोकप्रियता कमाउने नाममा भएको गुलाब अभियान अहिलेको स्थितिलाई नजरअन्दाज गर्दा सफल हुने स्थिति देखिएको छैन । रोपिएका गुलाबका बोटहरु फस्टाउनुको साटो मर्दै गएका छन् ।
गुलाब रोपिएको ठाउँ तारजाली लगाउन र वृक्षारोपण गर्नका लागि नगरपालिकाले प्रेम निर्माण सेवालाई ठेक्का दिएको थियो । निर्माण सेवाले ठेक्का बमोजिम आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । दुबै तिरको डिभाइडरमा तारजालिको काम सकेर वृक्षारोपणको काम निर्माण सेवाले गर्दै आएको छ । “हामीले जहाँ नगरपालिकाले गुलाब रोपेको छ, त्यसलाई मध्यनजर गर्दै गुलाबको बोटलाई असर नपर्ने गरी वृक्षरोपण सुरु गरेका छौँ ।” निर्माण सेवाका सञ्चालक प्रेमबहादुर शाहीले भने, “झण्डै ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । वृक्षरोपण सकिएपछि हाम्रो काम सकिन्छ ।”
जहाँ ११ प्रजातीका बिरुवा रोपिएका छन् । जसमध्ये अधिकांश सिजनमा फुल्ने फुल रोपिएको शाही बताउँछन् । उनका अनुसार रोपिएका विरुवाको उचाई बढीमा १५ फिटसम्मको रहने छ । रोपिएका बिरुवा हिर्किएपछि बजार क्षेत्रको सौन्दर्यता बढ्ने विश्वास गरिएको छ । गएको मंसिर ८ गते ५८ लाख १४ हजार तीन सय ७८ रुपैयाँ ९५ पैसामा नगरपालिकासँग सम्झौता गरेको निर्माण सेवाले २०८२ वैशाख १५ भित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । “आजसम्म सबै काम सम्पन्न भैसक्थ्यो ।” शाहीले भने, “नगरपालिकाले गुलाब रोप्ने भनेपछि हामीले काम रोक्नुपर्ने भयो । त्यसैले काममा ढिलाइ भएको हो ।”
नगर प्रमुख थारुको योजनाअनुसार रोपिएका गुलाबको अभियान भने असफल हुने सम्भावना बढ्दै गएको छ । जिम्मेवारी लिएका बिधालयहरुले अभियानलाई पुर्ण रुपमा साथ दिन सकेनन् । कतिपय क्षेत्रमा गुलाब रोपिए पनि कतिपय क्षेत्रमा अझै गुलाब रोपिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *