शेयेर गर्नुहोस
टीकापुर २६ असार /
दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको टीकापुरको घण्टा घर सञ्चालनको तयारी थालिएको छ ।
पटकपटक विवादमा आएको घण्टा घरको केही समय अगाडि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले स्थलगत अनुगमन गर्दै सञ्चालनका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाएको बताएका हुन । नगर प्रमुखको टोलिले गरेको घण्टा घरको अवलोकनलाई कतिपयले सस्तो लोकप्रियताको उपजको रुपमा सामाजिक सञ्जाल मार्फत टिप्पणी समेत गरेका छन् । स्मार्ट सिटी अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढी कैलालीको निगरानीमा घण्टा घर निर्माण भएको थियो । रोयल प्रशंसा जे. भी. धनगढीले तीन करोड २६ लाख ४२ हजार दुई सय ६६ रुपैयाँ ५० पैसामा घण्टाघरको जिम्मा लिएको थियो ।
२०७५ पुस ११ गतेबाट निर्माण सुरु भएको उक्त आयोजना २०७७ भदौ २५ गते सम्पन्न गर्नुपर्ने भएपनि कोरोना संक्रमण लगायतका समस्याका कारण एक वर्ष ढिलो गरी आयोजनाको काम सम्पन्न भएको थियो । निर्माण भएको घण्टा घरलाई टीकापुरको साँस्कृतिक पहिचान झल्काउने म्युजियमको रुपमा सञ्चालन गर्ने तयारी नगरपालिकाले गरेको छ । घण्टा घर सञ्चालनका लागि ठेक्का प्रक्रिया मार्फत काम अगाडि बढाइने छ । “साउनको पहिलो सातासम्म हामीले घण्टा घरको टेण्डर आव्हान हुनेगरी काम सुरु गरेका छौं । अहिले त्यसको स्टिमेट तयार भैरहेको छ ।” नगर प्रमुख थारुले भने, “भदौभित्र घण्टा घर सञ्चालनमा आउँछ । त्यसलाई टीकापुरको पहिचान झल्किने म्युजियमको मोडलमा ठेक्का दिने कुरा भएको छ ।”
घण्टा घरको भुइँ तलामा पुस्तकालय रहने छ । बिचको तलामा रेष्टुरेन्ट रहने छ भने त्यस माथीको तलाबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्न सकिने छ । नगर प्रमुख थारुले पुस्तकालय रहने भुइँ तलामा टीकापुरका साँस्कृतिक पहिचान झल्किने सामाग्रीहरु अवलोकनका लागि राखिने बताएका छन् । घण्टा घरको बाहिर लगाइएका घडीको विषयले पटकपटक आलोचना खेपेको घण्टा घर सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक स्रोतको एक आधार बन्ने विश्वास लिइएको छ ।