चर्चामा रहने टीकापुर विमानस्थल पुनः चर्चामा

शेयेर गर्नुहोस


टीकापुर २१ माघ /
पटकपटक चर्चामा आइरहने टीकापुर विमानस्थल पुनः एकपटक चर्चामा आएको छ ।
शनिबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रेशमलाल चौधरी, सुदुरपश्चिम प्रदेशका कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरी, टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु लगायतले टीकापुर विमानस्थलको स्थलगत निरीक्षण गरेको तस्वीरले पुनः चर्चामा आएको हो । विमानस्थलको अनुगमन गर्न गएका बेला टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर विमानस्थल सञ्चालनमा आउन सक्ने स्थिति नभए नागरिक उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नुपर्ने तर्क दिएका छन् । नगर प्रमुख थारुले कित तत्काल टीकापुर विमानस्थल सञ्चालन गर्नुपर्ने नभए नागरिक उड्डयन प्राधिकरणले नगर विकास समितिलाई जग्गा फिर्ता गर्नुपर्ने बताउँदै टीकापुरकाे मुटुमा रहेको जग्गा नागरिक उड्डयन प्राधिकरणले ओगटी राख्न नपाउने बताए । हामीले पटकपटक विमानस्थल सञ्चालनका लागि संघीय सरकारलाई आग्रह गर्दै आएका छौँ । राजनीतिक खिचातानीका कारण सञ्चालन हुन नसकेको विमानस्थल संघीय सरकारको इच्छाशक्ति नभएका कारण सञ्चालन हुन सकेको छैन ।” उनले भने, “यदि विमानस्थल सञ्चालन हुन सक्ने स्थिति होइन भने त्यो प्राधिकरणले जग्गा ओगटेर राख्नुको औचित्य छैन होला । त्यो जग्गा फिर्ता गर्दा हुन्छ ।”
उनले यस विषयमा टीकापुर नगरपालिकाकाे टीम संघीय सरकार समक्ष डेलिगेसनमा जाने पनि बताएका छन् । विमानस्थलको लम्बाइ एक हजार दुई सय ५० मिटर र चौडाइ एक सय ७५ मिटर रहेको दाबी गरिँदै आएको छ । यसअघि महालेखा परिक्षणको प्रतिवेदनले टीकापुर विमानस्थल यथास्थितिमा सञ्चालन हुन नसक्ने देखाइसकेको छ । तर, टीकापुरका लागि राजनीतिक मुद्दा त्यहीँ विमानस्थल बन्दै आएको छ । विशेषगरी निर्वाचनको समयमा विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता बढी हुने गरे पनि विमानस्थल खाली भएकै पनि डेढ दशक पुग्न लाग्दासम्म विमानस्थल सञ्चालनका लागि कसैको एजेण्डा सफल हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *