चैते धानमा किसानको आकर्षण बढ्दो

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी १५ चैत /
कैलालीको भजनी नगरपालिका वडा नं. ६ का पतीराम चौधरीले ९ वर्षदेखि चैते धानको खेती गर्दै आउनु भएको छ । बाढी र डुवान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यसवर्ष पनि चैते धानको रोपाइँ गर्नुभयो । राम्रो उत्पादन दिने र वर्षात कम वर्षात भयो भने दुईपटक सम्म उत्पादन दिने भएका कारण पतीरामले बर्खे धान रोप्नै छोड्नुभयो । “उत्पादनमा बर्खे धानकै बराबर भैहाल्छ । बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ ।” उहाँ भन्नुहुन्छ, “बर्खे धान रोपाइँ गर्दा बाढी र डुवानका कारण कहिल्यै राम्रो भएन । त्यसो हुँदा वर्षातको समयमा धान रोप्न नै छोडिदिए ।”
भजनीकै रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्नुहुन्छ । उहाँले हिउँदे खेतीमा तोरी लगाउनुहुँन्छ भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्नुहुन्छ । “खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौदेखि छौँ । पहिले /पहिले बाढी र डुवान अत्याधिक हुने हुँदा हिउँदे बाली अर्थात एउटा खेती मात्रै गर्न सकिन्थ्यो ।” रुपलाल भन्नुहुन्छ, “जबदेखी चैते धानको खेती सुरु भयो त्यहाँबाट खेत बाँझो राख्नुपरेको छैन । उजाड देखिने उर्वर फाँटहरु बैशाख जेठको धुँपमा पनि हरिया देखिन थालेका छन् ।”
भजनी नगरपालिका वडा नं. ८ का किसन चौधरी ११ वर्षदेखि चैते धानको खेती गर्दै आउनुभएको छ । वर्षातको समयमा पथरैया नदी र काढा नदीको डुवानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आउनुभएको छ । “बर्खाको समयमा बाढी र डुवानका कारण कृषि योग्य फाँटहरु सबै बाँझा हुन्छन् । लगाएको खेती पनि डुवानले सबै नष्ट हुन्छ ।” उहाँ भन्नुहुन्छ, “बर्खाको विकल्प फागुन/चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको संख्या बढ्दै गएको छ । उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको किसनको बुझाइ छ ।
नगरपालिकाको वडा नं. ८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याएको छ । नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण पनि वडा नं. ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले बताउनुभयो । “नगरपालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यसवर्ष सञ्चालन गर्न सकिएन । किसानहरूलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “बाढी र डुवानको बढी जोखिम हुने क्षेत्रका किसानहरू चैते धानमा आकर्षित छन् । त्यसलाई फैलाउँदै लैजानको लागि नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ ।”
नगरपालिकामा यसवर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भैरहेको छ । गतवर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेको कृषि शाखा प्रमुख अधिकारीले बताउनुभयो । चैते धानमा चारपाँच प्रजातिका धान भएपनि किसानहरूले हर्दिनाथ १ धान रोप्ने गरेका छन् । नगरपालिकाले किसानहरूको पहिचान खुल्ने गरी कृषि प्रोफाइल निर्माणको तयारी पनि गरिरहेको छ । नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन छ। पालिकाका अनुसार वर्षायाममा झण्डै ३ हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ ।
टीकापुर नगरपालिकामा पनि चैते धानको विस्तार सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले चैते धान विस्तारको कार्यक्रम अघि सारेको छ । नगरपालिकाको वडा नं. ६, ७ र ८ को डुवान क्षेत्रमा चैते धान विस्तार भैरहेको नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले जानकारी दिनुभयो । “गतवर्ष भन्दा यसवर्ष केही किसानले धानको खेती गरेका छन् । त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ ।” उहाँले भन्नुभयो, “किसानलाई चैते धान प्रती आकर्षण बढाउन आगामी दिनमा नगरपालिकाले कार्यक्रम ल्याउने तयारी गरेको छ् ।”
त्यस्तै जोशीपुर गाउँपालिकामा पनि बर्सेनि चैते धानको खेती विस्तार हुने क्रम बढ्दै गएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख किशोर पन्तले गत वर्षको तुलनामा यसवर्ष चैते धान विस्तार बढेको बताउनुभयो । “यसवर्ष झण्डै २० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको पाइन्छ । जुन गत वर्षको भन्दा बढी हो ।” उहाँ भन्नुहुन्छ, “गाउँपाकिकाले मात्रै १० हेक्टर क्षेत्रफलका लागि किसानहरूलाई धानको बीउ वितरण गरेका थियौं ।” गाउँपालिकको वडा नं. ५ मा किसानहरूले सबैभन्दा बढी चैते धान रोप्ने गरेका छन् । गाउँपालिकामा एक हजार एक सय २० हेक्टर कृषि योग्य जमिन रहेको छ ।
कुनै समय चैते धान प्रती किसानको निकै आकर्षण रहेको जानकी गाउँपालिका वडा नं. ४ र ७ मा भने सिँचाइको समस्याका कारण किसानहरूले चैते धान लगाउन छोडेका छन् । राष्ट्रिय गौरवको आयोजना सुरु भएपछि सहजरूपमा सिँचाइको पहुँच नहुँदा किसानहरूले चैते धानको खेती छोडेको बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्द राज रावतले बताउनुभयो ।
“सहकारीले चैते धानको बिज वृद्धिको कार्यक्रम अन्तर्गत खेती गर्दै आएको थियो । त्यसमा किसानहरुलाई प्रोत्साहन गर्ने काम पनि सहकारीले गर्दै आएको थियो । आयोजनाको काम हुँदा सिँचाइमा समस्या हुँदा अहिले पुर्ण रुपमा धान खेती रोकिएको छ ।” सहकारीका व्यवस्थापक रावत भन्नुहुन्छ, “सिँचाइको सहज सुविधा भएसँगै पुनः चैते धान खेती विस्तार कार्यक्रम सञ्चालन गर्छौं । किसानलाई पनि प्रेरित गर्ने काम गर्नेछौं ।” जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालबीर चौधरीले गाउँपालिका भित्र यसवर्ष करिब तीन हेक्टर क्षेत्रफलका मात्रै चैते धानको खेती भएको बताउनुभएको छ । “केही वर्ष पहिले गाउँपालिका भित्र मात्रै ८/९ हेक्टरका चैते धान खेती किसानले गर्थे ।” उहाँले भन्नुभयो, “सिँचाइको सहज सुविधा नहुँदा अहिले अधिकांशले छोडे ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *