च्याउ खेतीमा जोडिएका दुई युवा

शेयेर गर्नुहोस

झलनाथ खनाल, टीकापुर २६ माघ /
कैलालीको जानकी गाउँपालिका वडा वडा नं. ४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उहाँको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को माफेको छ ।
हिजोका दिनमा परम्परागत खेतीपाती गर्दै आएका आमाबुबाको कमाईबाट घरखर्च धान्नै मुस्किल श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाईलाई निरन्तरता दिन नसक्नुभएका श्रीरामले घरमा आफू सुत्ने कोठाको एउटा कुनामा ६ हजार रुपैयाँबाट सुरु च्याउ खेती सुरु गरेको सुनाउनुभयो । ६ हजार लगानीबाट उहाँले १५ हजार आम्दानी गर्नुभयो । त्यसपछि बिस्तारै बढ्दै गएको उहाँको व्यवसायमा यतिबेला ४० लाख खर्च भैसकेको छ ।
उहाँको फार्ममा अहिले दैनिक ३० देखि ४० केजीसम्म च्याउ उत्पादन हुन्छ । बजारीकरणको कुनै समस्या छैन । च्याउका लागि मानिसहरू घरमै पुग्छन् । सिजनमा एक सय ५० रुपैयाँ प्रती किलो र बेसिजनमा तीन सय देखि चार सयसम्ममा बिक्रि हुनेगरेको उहाँ बताउनुहुँन्छ ।
मौसमी तथा बेमौसमी च्याउ उत्पादन गर्दै आउनुभए श्रीराम आइएसी एजि अध्ययन गर्दैगर्दा मासिक शुल्क तिर्न नसकेर भारत पुगेका श्रीरामलाई अहिले पैसाको लागि पछाडि फर्किनु परेको छैन । व्यावसायिक च्याउ खेतीबाट मासिक एक लाख बचत गर्न थालेपछि श्रीरामका आमाबुबाको छोरा सरकारी जागिर खानुपर्छ भन्ने हिजोको हठ पनि हटेको छ । “आर्थिक अभावकै कारण पढाइ पूरा भएन । पढाई गर्दा लागेको ऋण तिर्न भारतमा गएर नौ महिना काम गर्नुपर्यो ।” श्रीराम भन्नुहुन्छ, “अब पैसाको अभाव छैन । सबै परिवारसँगै काम गर्छौं । सबै कामबाट सन्तुष्ट छौं ।”
उहाँले जागिरको पछाडि नलागेर व्यवसायबाट मनग्ये आम्दानी गर्न थालेपछि बुवा आमाले देखेको सपना भन्दा ठूलो सफलता पाएको बताउनुभएको छ । “अब मलाइ पछाडि फर्केर हेर्नुपर्ला जस्तो लाग्दैन । निरन्तरको मिहेनत र आत्मविश्वासले मलाई व्यवसायी बनाएको छ ।” श्रीराम भन्नुहुन्छ, “मैले काम गरेको देखेर समुदायका केही युवाहरू पनि आकर्षित भएका छन् ।” च्याउ खेतीका लागि भवन बनाउन उहाँलाई राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरीया सिँचाइ आयोजनाले साढे पाँच लाख सहयोग गरेको थियो । बाँकी लगानी व्यवसायबाट भएको फाइदाबाटै भएको उहाँ बताउनुहँन्छ ।
व्यवसायलाई अझै बढाउने सोचमा श्रीराम हुनुहुन्छ । उहाँले च्याउको अचार बनाएर बजारीकरण गर्ने सोच समेत बनाउनुभएको छ । “व्यवसाय बढ्दै गएको छ । आम्दानी राम्रो छ । अझै यसलाई स्तरीय बनाउनको लागि सोचिरहेको छु ।” श्रीरामले भन्नुभयो, “च्याउको अचार उत्पादन गरेर त्यसलाई बजारीकरण गर्ने सोच बनाएको छु । च्याउको अचारको माग बजारमा राम्रो भएको पाएको छु ।”
त्यस्तै गाउँपालिकाको वाडा नं. ५ पथरैयाका एन्जिल चौधरी पनि व्यावसायिक च्याउ खेती गर्दै आउनुभएको छ । कम लगानी र राम्रो आम्दानी हुन थालेपछि उहाँ च्याउ खेतीमा लागेको बताउनुहुँन्छ । चार वर्षदेखि च्याउ खेतीमा लाग्नुभएका एन्जिललाई पनि पछाडि फर्केर हेर्नुपरेको छैन । उहाँको परिवार नै त्यसैमा आवद्ध छ । सिजनमा बढी काम हुनेभएपछी उहाँले केही महिनाको लागि केहीलाई रोजगारी समेत दिँदै आउनुभएको छ ।
धानको पराल टुक्रा पारेर त्यहीँ परालको टुक्रालाई आगोमा पकाएर प्लास्टिकमा प्याकेज गरेर च्याउ उत्पादन गरिन्छ । प्याकेज गरिएको एक महिनामा च्याउले उत्पादन दिन सुरु गर्छ । अहिले पनि उहाँको फार्ममा आठ सय च्याउका पोका छन् । एउटा पोकाबाट तीन केजीसम्म उत्पादन हुन्छ । “एक पोकाबाट ६ सयसम्म आम्दानी हुन्छ । त्यसमा हाम्रो लगानी एक सय ५० रुपैयाँ हुन्छ भने फाइदा चार सय ५० भयो ।” एन्जिल भन्नुहुन्छ, “एक सिजनमा ६ देखि ७ लाखसम्म कमाई हुन्छ ।”
किसानहरूले यो सिजनमा कन्या र डल्ले च्याउको व्यवसाय गर्दै आएका छन् । भदौ देखि फागुनसम्म च्याउ खेती राम्रो फस्टाउने भएपछि अन्य किसानमा पनि आकर्षण बढ्दै गएको छ । गर्मीमा भने मिल्की च्याउको उत्पादन हुने गरेको छ । च्याउका लागि कोठाको तापक्रम २० देखि ३० डिग्री, ९० प्रतिशत आद्र्रता र सफा हावा चाहिन्छ ।
व्यावसायिक रुपमा नभए पनि घरमा आफुलाई खान अधिकांशले च्याउ खेती गर्दै आएका छन् । च्याउ खेतीमा स्थानीय सरकारले पनि तालिम र बिउमा सहयोग गर्दै आएको टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विक बताउनुहुँन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *