छ महिना अगाडि भएको बिज्ञापन छ महिनापछि रद्द

शेयेर गर्नुहोस


टीकापुर १६ माघ /

जानकी गाउँपालिका वडा नं. ९ मा रहेको हिमालय राष्ट्रिय माद्यामिक बिधालय अमरावतीले शिक्षकका लागि आव्हान गरेको बिज्ञापन शिक्षकको पदपूर्ति नगरी ६ महिनापछि रद्द गरेको छ ।
बिधालयले निमावि राहत करार कोटामा नेपाली विषयको शिक्षक माग गर्दै सूचना आव्हान गरे पनि शिक्षक पदपूर्ति नगरेरै ६ महिनापछि बिज्ञापन रद्द गरेको हो । २०८१ असार ९ गते करार सुचिका लागि आवेदन आह्वान भएको थियो । असार २३ गतेसम्म म्याद राखिएको उक्त सुचनामा कसैको आवेदन नपरेपछि असार २४ गते बिधालयल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गगन साउँदको अध्यक्षतामा बसेको बैठकले निर्णय गर्दै खुला बिज्ञापन गरेको थियो । साउन ७ गतेसम्म आवेदन भर्ने अन्तिम म्याद कायम गर्दै सुचना आह्वान भएको उक्त बिज्ञापनमा १२ जनाले दर्खास्त भरेका थिए ।
दर्खास्त भरेका प्रशिक्षार्थीहरुले शिक्षक नियुक्तिको लागि आवश्यक प्रक्रिया कुरेर बसेको ६ महिना भन्दा लामो समयपछि बिधालयले उक्त बिज्ञापन रद्द भएको जानकारी दिएको बताइएको छ । प्रशिक्षार्थीबाट लिइएको दुई हजार पाँच सय रुपैयाँ सहित आवश्यक कागजात फिर्ता लिन बिधालय प्रशासनले आग्रह गरेको पाइएको छ ।
“मैले पनि दर्खास्त दिएकी थिए । साउन ८ गते सम्पर्क मिति भए पनि त्यो बिचमा कसैले सम्पर्क गरेनन् र सम्पर्क गर्दा अन्योलको कुरा प्रशासनबाट हुन्थ्यो ।” बिज्ञापनमा आवेदन दिएकी मध्येकी निरा काफ्लेले भनिन्, “अस्ति सोमबार एकाएक फोन आयो । हिमालय माविको बिज्ञापन रद्द भयो अनि दिएको दर्खास्त दस्तुर फिर्ता लिन भनियो ।” उनले ६ महिना भन्दा लामो समयसम्म कुराएर बिज्ञापन रद्द गर्नु न्यायोचित नभएको बताएकी छन् । बिधालय प्रशासन र व्यवस्थापन समितिको इच्छा भएको व्यक्ति नआउने भएका कारण पनि बिज्ञापन रद्द भएको हुनसक्ने अनुमान गरिन ।
अचम्मको कुरा त के छ भने तत्कालीन बिधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष साउँदको अध्यक्षतामा भएको निर्णय त्यसपछि कार्यवाहकको जिम्मा पाएका लक्ष्मण अधिकारीको अध्यक्षतामा बसेको बैठकले उल्टाएको छ । कार्यबाहक अध्यक्ष अधिकारीले बिधालयलाई नेपाली शिक्षक आवश्यक नभएको भन्दै बिज्ञापन रद्द गरिएको प्रतिक्रिया दिए । उनले वडा नं. ९ का वडा अध्यक्ष तथा बिधालय व्यवस्थापन समितिका पदेन सदस्य खकेन्द्र भण्डारीको सल्लाह अनुसार बिज्ञापन रद्द गरिएको बताएका छन् । “हामीसँग अहिले पनि ८/९ जना नेपालीमा स्नातकोत्तर गरेका शिक्षक छन् । त्यसैमा प्राविको एकजना शिक्षक नेपालीको आएपछि त्यसको सट्टा अर्को विषयको शिक्षक ल्याउने गरी बिज्ञापन रद्द गरिएको हो ।” उनले भने, “अब नेपाली विषयको ठाउँमा अन्य अनिवार्य विषयको बिज्ञापन गर्छौं ।”
उसो त बिधालयमा निमावि नेपाली विषयको दरबन्दी कायम छ । उक्त दरबन्दीका लागि बिज्ञापन भएको थियो । जानकी गाउँपालिकाले दरबन्दी मिलान गर्दा महेन्द्र शिशु माद्यामिक बिधालयको उक्त दरबन्दी हिमालय सारेको थियो । त्यसैअनुसार रिक्त पदका लागि दर्खास्त भए पनि आफू अनुकुलको व्यक्ति बिधालयमा व्यवस्थापन गर्न नसकिने भएपछि बिज्ञापन रद्द गरिएको आशंका पनि गरिएको छ । कार्यवाहक अध्यक्ष अधिकारीले बिज्ञापन रद्द गर्नाको बलियो कारण प्रस्तुत गर्न सकेनन । उनले नेपाली विषय पढेका शिक्षक बढी भएका कारण बिज्ञापन रद्द गरिएको प्रतिक्रिया दिए । खासगरी कुनै बलियो कारण नखुलाई भएको बिज्ञापन रद्द गर्न पाउने व्यवस्था छैन ।
उता गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले बिज्ञापन रद्द भएको जानकारी आफुहरुलाई नभएको बताएका छन् । उनले पटकपटक नेपाली विषयको सट्टा अर्को विषय व्यवस्थापनको माग गर्दै बिधालयबाट आग्रह भएको भए पनि रद्द भएको जानकारी नभएको बताए । “त्यो गर्न हुन्थेन । उहाँहरुले कसरी गर्नुभयो त्यो थाहा भएन । ” उनले भने, “खासगरी बिज्ञापन आह्वान भैसकेपछी त्यसलाई रद्द गर्न मिल्दैन ।”
प्राथमिकताको आधारमा नेपाली दोस्रो स्थानमा पर्ने भन्दै दरबन्दी खाली राखेर भएको बिज्ञापन स्थगित गर्नु राम्रो पक्ष नभएको बताए । “मलाई पटकपटक बिज्ञापन रद्दका लागि कुरा आएको थियो । मैले हुँदैन बरु परिक्षा गर्न समस्या भए हामी सहजीकरण गर्छौं भनेर समन्वय गरिरहेका थियौं ।” उनले भने “हामीले हुँदैन भनेपछि उता जिल्ला शिक्षा समन्वय इकाईबाट कुनै आधिकारिक धारणा ल्याएर स्थगित गरेको भए थाहा भएन । हामीसँग त्यो विषयमा कुनै जानकारी अनि समन्वय छैन । त्यो नहुनुपर्ने थियो । बिज्ञापनको सबै प्रक्रिया पूरा गरेर परिक्षा गर्न मात्रै बाँकी हुँदा त्यो निर्णय गर्नु गलत थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *