शेयेर गर्नुहोस
टीकापुर १७ असार /
टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय सहकारी महासंघले १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई सुदुरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी व्यवसाय गर्ने सहकारी संस्थाको रुपमा २५ हजार नगद सहित सम्मान-पत्र प्रदान गरेको छ । सहकारीका अध्यक्ष नृपराज भण्डारीले पुरस्कार ग्रहण गरेका छन् ।
नेपालको सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सहकारी संघ/संस्था तथा अभियानको प्रवद्र्धनमा योगदान पुर्याउने अभियन्ता लगायतलाई प्रत्येक वर्ष जुलाई पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गरिन्छ । त्यस्तै अन्य प्रदेशहरुमा कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड झापा, मधेश प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड सर्लाही, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रे, गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पर्वत, लुम्बिनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड रुपन्देही र कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डोल्पा पुरस्कृत भएका छन् ।
त्यस्तै, राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट बाग्लुङका शान्तराज शर्मा पुरस्कृत भएक छन् । उनेले लामो समयसम्म महासंघको व्यवस्थापकीय नेतृत्वमा रहेका थिए । त्यसैगरी सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी अखबार अनलाइनका सम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । उत्कृष्ट सहकारी संघ पुरस्कारबाट जिल्ला सहकारी संघ लि. काभ्रे पुरस्कृत भएको छ ।