शेयेर गर्नुहोस
भजनी २० फागुन /
कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएर आवागमन सहज होला भन्ने एउटा सपना त छदैछ त्यो भन्दा नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने सपना स्थानीयको छ ।
बर्सेनि कान्द्रा लगायतका नदी तर्नुपर्दा स्थानीयले पैसा तिर्नुपर्छ । “दैनिक कामको लागि नगरपालिका आउनुपर्छ । नगरपालिका आउँदा ३० रुपैयाँ नदी तरेको तिर्नुपर्छ ।” स्थानीय रुपक साउँदले भन्नुभयो, “दैनिक ३० का दरले पनि महिनाको ९ सय रुपैयाँ नदी तरेको मात्रै तिर्नुपरेको छ ।” उहाँले नगरपालिकाले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकहरूको आवतजावतका लागि सहज बनाउनुको साटो पैसा उठाउने कार्यले स्थानीयलाई समस्या हुँदै आएको बताउनुभयो । नदी ठेक्कामा दिएर नगरपालिकालाई भन्दा ठेक्का लिने ठेकेदार कम्पनीलाई बढी फाइदा हुनेगरेको साउँदले बताउनुभयो ।
ठेकेदार कम्पनीले निर्माण गरेको पुलबाट नभई नदीबाट सवार गर्दा पनि पैसा उठाउने गरेको पाइएको छ । ठुला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ । त्यसरी वारपार भएका सवारीसाधनबाट पनि पैसा संकलन नगर्नुपर्ने भोजराज काफ्ले बताउनुहुँन्छ । “कान्द्रामा पुल बन्न लागेको एक दशक भन्दा बढी भयो । त्यो पुल समयमै निर्माण नहुनुको एउटा कारण बिचौलिया पनि हुन । जसले नदी ठेक्काको नाममा वार्षिक लाखौं उठाउँछन् ।” काफ्ले भन्नुहुन्छ, “नभए पुल निर्माण सम्पन्नका लागि स्थानीय सरोकारवालाहरुले खेल्नुपर्ने भुमिका नखेल्नुको कारण के हुन्थ्यो ।”
उसो त हुलाकी राजमार्ग हुँदै धनगढी जान पनि सजिलो छ । टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमीटर मात्रै छ । महेन्द्र राजमार्गबाट जाँदा त्यो भन्दा लामो पर्छ । कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्गको प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरी बताउनुहुँन्छ । उहाँले जागिरको सिलसिलामा कैलारी गाउँपालिका बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा कान्द्रा तरेको पैसा तिर्दै आउनुपर्ने बाध्यता रहेको बताउनुभएको छ । “नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौं भनेर ठेकेदारको प्रतिक्रिया आउँछ । त्यति भएपछि पैसा त दिनै पर्यो ।” बिन्तीरामले भन्नुभयो, “भन्ने त कसलाई के भन्ने ? सबैलाई आफ्नै समस्या छ । कान्द्राको पुल बनेको भए हामी सबैलाई सहज हुनेथियो ।”
भजनी नगरपालिकाले कान्द्रा नदी लगायत मातहतमा रहेका नदीलाई ठेक्कामा दिएको छ । ठेक्का दिएका नदीमा माछा मार्ने देखि डुङ्गा सञ्चालन हुँदै आएको छ । एक आर्थिक वर्षका लागि हुने ठेक्काले नगरपालिकाको आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसैवर्षबाट अन्त्य हुने बताउनुभयो । उहाँले हुलाकी राजमार्ग अन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत सुरु हुने उहाँको विश्वास छ ।