जानकीले असल अभ्यासको जानकारी दियो

शेयेर गर्नुहोस


टीकापुर १२ असार /
जानकी गाउँपालिकाले सञ्चालन गर्दै आएका केही असल अभ्यासका बारेमा जानकारी गराएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले विगतदेखी हालसम्म गाउँपालिकाले गर्दै आएका केही असल अभ्यासका बारेमा बिहिवार पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराएको हो । उनले गाउँपालिकाले सम्पन्न गरेका असल अभ्यासका कारण कार्य सम्पादन मुल्यांकनमा उत्कृष्ठ हुन मद्दत पुगेको बताए । गाउँपालिका स्थानीय तह कार्य सम्पादन मुल्यांकनमा कैलाली जिल्लाका १३ पालिका मध्ये दोस्रो भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चौधरीले अस्पताल नभएका कारण स्वास्थ्य सेवाले गर्दा मुल्यांकनमा पहिलो हुनबाट गाउँपालिका चुकेको जानकारी दिए ।
उनले सामुदायिक विद्यालयमा मासिक स्वास्थ्य शिक्षा कार्यक्रम लागु गरिएको जानकारी दिए । सो कार्यक्रमका लागि गाउँपालिकाले दुईजना स्टाफ नर्सको व्यवस्था गरेको छ । ती स्टाफ नर्सले विद्यालयमा स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिने गरेको बताईएको छ । त्यस्तै असल अभ्यास अन्तर्गत नै विद्यालयमा करेसाबारी निर्माण गरिएको छ । ‘जंक फुड’ विस्थावित गर्ने उद्देश्यले विद्यालय करेसाबारी कार्यक्रम लागु गरिएको बताउँदै चौधरीले यो कार्यक्रम चालु आवमा ४ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको जानकारी दिए । गाउँपालिकाले विद्यालयमा विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवा आयोगका बारेमा जानकारी दिने उद्देश्यले बिधालयको पुस्तकालयमा उक्त पुस्तकको व्यवस्था गरिएको बताए ।
विगतमा कृषि मेला सञ्चालन गरेर कृषकको आयआर्जनमा गाउँपालिकाले सहयोगी भूमिका निर्वाह गरेको गाउँपालिकाको ठहर छ । कृषि मेला सञ्चालन भएपछि धेरै व्यक्तिहरु कृषि पेशातर्फ आकर्षित भएको बताइएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेर किसानलाई उत्पादनमा प्रतिस्पर्धा गर्ने बनाइएको छ । गाउँपालिकाले गहुँ बालीमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले विपदका क्षेत्रमा समेत गाउँपालिकाले उत्कृष्ठ अभ्यासहरु सञ्चालन गरेको छ । गाउँपालिकाले विपदको समयमा हरेक घरमा सूचना पुर्याउने उद्देश्यले पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन गरेको चौधरीले बताए । गाउँपालिकाले विपदको समयमा कसरी जोगिने भन्ने बारेमा सशस्त्र प्रहरी सँगको सहकार्यमा १८ दिने तालिम सम्पन्न गरेको छ ।उनले कर्मचारीहरुकाबिचमा सौहार्द वातावरण होस भन्ने उद्देश्यले हरेक महिनाको ७ गते कर्मचारी कार्य सहजिकरण बैठक सञ्चालन हुने जानकारी दिए ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष गणेश चौधरीले आगामी कार्यक्रमका बारेमा जानकारी दिएका छन । उनले गाउँपालिकाको प्रशासनिक भवन निर्माण, वडा नं. ६ मा १५ शैयाको अस्पताल स्थापना, वडा नं. ४ मा हरियाली गाउँपालिका अन्तर्गत नर्सरी स्थापना, गाउँ शिक्षा योजना, दूधमा पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम, विभिन्न ठाउँमा होमस्टे सञ्चालन गर्ने कार्यक्रम रहेको बताएका छन् ।
उनले लम्कीचुहा नगरपालिकासँगको सीमा विवादका बारेमा पत्रकारले सोधेको जिज्ञासामा नगरपालिकाले अनावश्यक विवाद निम्त्याएको बताए । उनले साविकको पथरैया गाविसको सीमा नै गाउँपालिकाको सीमा भएकाले सोही अनुसार समस्याको समाधान हुनुपर्ने जोड दिए ।
‘साविकको पथरैया गाविस कहाँ सम्म छ ? त्यो हेरे आफै प्रष्ट हुन्छ ।” उनले भने, त्यहाँका बासिन्दाले पनि धेरै कुरा प्रष्ट भन्न सक्छन । उनीहरुको कुरा पनि सुनिनु पर्छ ।’ उनले जिल्ला समन्वय समितिले भनेको आधारमा लम्कीचुहा नगरपालिका सीमा विवादको समाधान खोज्न तयार नभएकाले समस्या ठूलो देखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *