जुन युवा समूहले समाजको लागि केही गर्न चाहन्छन्

शेयेर गर्नुहोस


झलनाथ खनाल, जेठ २३ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ का राजेन्द्र बिश्वकर्माले कलाकारको माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्दै अभियान सुरु गर्नुभयो । गाउगाउमा अधिकारका नारा लगाउदै सडक नाटकको माध्यमबाट नागरिकहरुमा सचेतना फैलाउदै जानुभएका राजेन्द्रले समाज परिवर्तन भएको देख्नेहरुले पहिला आफू परिवर्तन हुनुपर्ने धारणा राख्दै आउनुभएको छ ।
टीकापुर बजार क्षेत्रमा “समाजका लागि एक घण्टा” अभियान सुरु गर्नुभएका राजेन्द्रले दैनिक एक घण्टा बजार सरसफाइ अभियान चलाउनुभएको थियो । त्यो अभियानले पाँच महिना निरन्तरता पायो भने अन्य नागरिक समुहहरु र पातन्जल योग समिती टीकापुरले त्यो कार्यक्रमलाई निरन्तरता दिएको थियो । दैनिक २३ घण्टा आफ्नोलागी बिताउन सक्नेहरुले समाजको लागि एक घण्टा छुट्याउन सके पनि विकास र समृद्धिका लागि कसैको मुख ताक्नु नपर्ने राजेन्द्र बताउनुहुन्छ । “समाजले के दियो भनेर हामी भन्छौ तर समाजलाई हामिले के दिएका छौ त्यो महत्त्वपूर्ण हो ।” राजेन्द्रले भन्नुभयो, “हामी काम कम गर्छौ प्रचार बढी खोज्छौ यस्ले समाजमा परिवर्तन ल्याउन सकिन्छ त ?” अहिले पनि उहाँको नेतृत्वमा गुडिमुन्टे समुहको नामबाट युवाहरूको समूह छ जुन कलाकारिताबाट होस वा अन्य कुनै माध्यमबाट समाजसंग प्रत्यक्ष जोडिएको छ ।कोरोनाको दोस्रो लहर सुरुहुनुभन्दा पहिले समुदायहरुमा थुप्रै सचेतनामुलक सडक नाटकबाट नागरिकहरुलाई जनचेतना फैलाउने काम भएको समुहमा आबद्ध युवा सीता नाथ बताउनुहुन्छ ।
टीकापुरका लोकबहादुर बुढाक्षेत्री पेशाले ब्यापारी हुन । उहाँको समाजप्रतिको सहानुभूति छुट्टै छ । उहाँसंग अटोरिक्सा व्यावसायी जोडिएका छन । अहिलेको महामारीमा तिनै अटोरिक्सा चालकले आफ्ना अटोरिक्सालाई आपतकालीन यमबुलेन्स बनाएका छन । बिरामिहरुलाई घरदेखी अस्पतालसम्म ओहोरदोहोरका लागि तिनै अटोरिक्साको प्रयोग हुने गरेको छ । अटोरिक्साको तेल खर्च लोकबहादुरले जोहो गर्दै आउनुभएको छ । “सहयोगी दाताबाट भएको सहयोगले अटिरिक्साका लागि पेट्रोलको व्यवस्थापन गरेका छौ । समुहमा आबद्ध साथिहरुले पनि राम्रो साथ दिनुभएको छ ।” लोकबहादुरले भन्नुभयो, “यस्तो बिपत्तिमा एकले अर्काको सहयोग गर्नु हार्म्रो कर्तव्य हो त्यही कर्तव्यलाई हामिले निर्वाह गरेका मात्र हौ ।” उहाँले कुनै बिरामीलाई नेपालगन्ज, धनगढी रेफर गर्नुपर्ने भएपनी आर्थिक अवस्था निकै कम्जोर भएकालाई निशुल्क अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको बताउनुभएको छ ।
टीकापुरको प्रयास युवा क्लब दर्ता छैन । १३ जना युवाहरुको समुहले युवा क्लब गठन गरेपछि अहिले साजाजिक कार्यमा क्लब सक्रिय देखिएको छ । कोरोनाको महामारीमा टीकापुर अस्पतालको प्रवेशद्वारमा क्लबले हेल्थ डेस्क स्थापना गरेको छ । अस्पतालमा आउने बिरामीहरुलाई मास्क, पिउने पनि, आवश्यक परामर्श दिनेकाम गर्दै आएको क्लबका उमेश नाथ बताउनुहुन्छ । क्लबले त्यती मात्रै नभई आर्थिक अबस्था कम्जोर भएका अस्पताल पुगेर उपचार गराउन नसकेका बिरामिहरुको उपचारका लागि समेत सहयोग गर्दै आएको उमेशले बताउनुभएको छ । उहाँले नगरपालिकाको वडा नं.को बिशालनगर शिविरबाट एक जना वृद्ध महिलाको उद्धार गरि कंचनपुर आश्रममा पुर्याउने काम समेत गरेको बताउनुभएको छ । “पहिलो चरणको कोरोना संक्रमणको समयमा पनि हामिले अस्पताल बाहिर हेल्थ डेस्क राखेर नागरिकहरुको सेवा गर्ने अवसर पाएका थियौ । अहिले पनि त्यो अवसर पायौ ।” उमेशले भन्नुभयो, “सामाजिक कार्य गर्नुजती आनन्द अरु केहिमा छ जस्तो लाग्दैन र पछिल्लो समयमा युवाहरू समाजप्रति जिम्मेवार बन्दै गएको देख्दा झनै खुसी लाग्छ ।”
कोरोनाका कारण भएको निषेधाज्ञाको समयमा कसैले खान नपाएर मर्न नपरोस् भन्दै युवाहरूले “बेसाहाराका लागि सहारा” कार्यक्रम सुरु गरेका छन । टीकापुरका युवा ब्यापारी जीवन बिष्टको नेतृत्वमा युवाहरूको समूहले थुप्रै बेसाहारालाई खाद्यान्न सहयोग गरेको छ । “सामाजिक संजालमा स्वस्फूर्त रुपमा अफिल गरेको सहयोग आव्हानलाई सुइकार गर्दै थुप्रैले सहयोग गर्नुभयो । त्यही सहयोगले हामिले बेसाहारालाई सहयोग गर्न सकेका छौ ।” जीवनले भन्नुभयो, “एक मानवले अर्को मानवलाई सहयोग गर्नु नै पुण्य हो । हामिले त्यही एक पुण्यको काम गरेका मात्र हौ ।”
माथिका यी युवा समुहहरु एक उदाहरण मात्र हुन । अहिले अधिकांश क्षेत्रमा सामाजिक र परोपकारी काममा युवाहरूको सक्रियता बढेको छ । पछिल्लो समय समाजप्रति युवाहरुको सक्रियता बढ्दै गएको पाइन्छ । समाजप्रति युवाहरू जागरुक हुनुलाई सुखद पक्ष पनि मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *