शेयेर गर्नुहोस
टीकापुर १८ साउन /
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ परीक्षाफल अनुसार टीकापुर क्षेत्रबाट सप्तऋषी माद्यामिक बिधालय टीकापुरका छात्रले उत्कृष्ट अंक ल्याउन सफल भएका छन् ।
कक्षा १२ को परिक्षामा सहभागी सप्तऋषी माद्यामिक बिधालयका अमित चौधरीले टीकापुर क्षेत्रबाट उत्कृष्ट अंक ल्याउन सफल भएका हुन । उनले परिक्षामा ३.७७ जिपिए ल्याएका छन् । बिधालयका प्रबन्ध निर्देशक शिवराम चौलागाईंले टीकापुरबाट आफ्नो बिधालयका विद्यार्थीले उत्कृष्ट अंक ल्याएको दाबी गरेका छन् । “हामीले पाएको जानकारी अनुसार टीकापुर क्षेत्रबाट हाम्रो बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।” उनले भने, “३.७७ जिपिए टीकापुरबाट ल्याउने बिद्यार्थीमा बिधालय पहिलो भएको हो ।”
देशभरबाट परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् । उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ। गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए।
नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका थिए ।