शेयेर गर्नुहोस
टीकापुर १२ असोज /
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका राजबन्दीहरुलाई स्वागत तथा अभिनन्दन गरेको छ ।
बिहीवार टीकापुरमा आयोजना भएको पार्टीको कार्यक्रमबाट टीकापुर घटनाका क्रममा जेलमा रहेर रिहाई भएका सबै राजबन्दीलाई स्वागत तथा अभिनन्दन गरिएको हो । पार्टीका वरिष्ठ केन्द्रिय सदस्य दामोदर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुरको सद्भावका लागि बोएर नभई व्यवहारबाट कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका संरक्षक चौधरीले टीकापुरले शान्ति चाहेको बताउँदै त्यसमा बाहिर बोलीमा मात्रै नभई व्यवहारमा त्यो अनुभुती गर्न आग्रह गरेका छन् ।
“इतिहासमा सबै कुरा पाइन्छ तर, शान्ति र सद्भाव पाउन निकै मुस्किल हुन्छ ।” उनले भने, “हाम्रो क्षेत्र शान्त छ, हामीमा सद्भाव छ भन्ने कुरालाई व्यवहारबाटै देखाउन सक्नुपर्छ ।” टीकापुर घटनालाई अरिङ्गालको संज्ञा दिँदै भने, “अरिङ्गालको गोलामा ढुङ्गा एउटाले हानेर भाग्यो । त्यो अरिङ्गालले निर्दोषलाई टोक्यो । र समाजमा खैलाबैला मच्चायो ।” टीकापुरको शान्तिका लागि जेलभित्रबाटै पनि धेरै काम गरेको उनले बताएका छन् । “मैले जेलभित्रबाटै १३ वटा पुस्तक लेखे, पार्टीको विधान लेखे । सधैं टीकापुर प्रति चिन्तित भए ।” चौधरी भन्छन्, “त्यसको परिणाम जनताले मलाइ २०७४ को निर्वाचनमा अत्याधिक मत दिनुभयो । त्यो राज्यले सुनेन । त्यसपछिको निर्वाचनमा जनताले त्योभन्दा धेरै माया गरे । जसका कारण जेलबाट हामी छुट्यौं ।”
कार्यक्रम सम्बोधनका क्रममा चौधरीले स्वच्छ प्रतिस्पर्धाको राजनीति गर्न आग्रह गर्दै टीकापुरको समाजिक सद्भावको सन्देश देशभर दिनका लागि पार्टीको केन्द्रिय बैठक टीकापुरमा आयोजना गर्न लागिएको बताएका छन् । “आज देशभर टीकापुरको सन्देश नकारात्मक मात्रै गएको छ । पार्टीका ४/५ सय केन्द्रिय पदाधिकारी टीकापुरमा आउँदा यहाँको वास्तविकता थाहा पाउनुहुनेछ ।” चौधरीले भने, “त्यो वास्तविकता देशभर फैलिने छ । टीकापुरमा कुनै अशान्ति छैन । कुनै सामाजिक बेमेल छैन । टीकापुर वास्तवमै सुन्दर छ । त्यो सन्देशले टीकापुर प्रती भैरहेको गलत प्रचारको अत्यन्त हुनेछ ।”
कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी सहित संघीय सांसद, प्रदेशका मन्त्री, प्रदेश सांसद लगायत नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रमको सञ्चालन गंगाबहादुर चौधरीले गरेका थिए ।