शेयेर गर्नुहोस
टीकापुर २८ माघ /
टीकापुर नगर विकास समितिको जग्गा प्रकरणमा दुई सय ४९ जना विरुद्ध विषेश अदालतमा मुद्दा दायर भएपछि यतिबेला टीकापुर क्षेत्रमा त्यसको व्यापक चर्चा चल्दै आएको छ ।
टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू, पदाधिकारीहरू र कर्मचारीको मिलेमतोमा प्लट घडेरीहरु आफन्ताको नाममा हक हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालतमा मुद्दा दायर गरेसँगै त्यसको चर्चा टीकापुरमा चुलिएको हो । लामो समयको अनुसन्धान पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा राजनीतिक दलका माथिल्लो तहका नेतादेखी कार्यकर्ता र कर्मचारीहरु दोषी देखिएपछि उनीहरूको व्यापक आलोचना स्थानीयले गर्न थालेका छन् । आफ्ना नेता तथा कार्यकर्ताहरुको विषयमा राजनीतिक दलले कुनै प्रतिक्रिया नदिएको भन्दै राजनीतिक दलको पनि आलोचना हुँदै आएको छ ।
जग्गा प्रकरणका विषयमा राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । उनीहरूले दोषीलाई कारबाही हुनुपर्ने धारणा राखेका छन् । नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले नेपाली काँग्रेस सधैं गलतको विपक्षमा उभिँदै आएको बताएका छन् । उनले नगर विकास समितिको जग्गा प्रकरणमा पनि दोषीले उन्मुक्ति पाउन नहुने बताए । “दोषीलाई कारबाही हुनुपर्छ, निर्दोषले उन्मुक्ति पाउनुपर्छ । त्यो जुनसुकै राजनीतिक दलसँग आबद्ध भएपनी ।” सभापति शाहले भने, “गलतलाई संरक्षण नेपाली काँग्रेसले गर्दैन । त्यो जोसुकै किन नहोस् ।”
उनले अख्तियारले दोषी प्रमाणित नगरेको बताउँदै दोषी देखाएको मात्रै भएको हुँदा अदालतले दोषी देखाएका पार्टीमा आबद्ध ब्याक्तीहरुलाई कारबाहीको दायरामा ल्याउन सकिने बताए । “अहिले नै नाम सार्वजनिक भएका ब्याक्तीहरुलाई दोषी मान्न सकिदैन । अहिलेको आरोप मात्रै हो ।” शाहले भने, “अदालतले अख्तियारको आरोपलाई प्रमाणीकरण गरेको खण्डमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ ।”
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष धुव्र खत्रीले जग्गा प्रकरणमा दोषी देखिएका ब्याक्तीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले निर्दोषलाई उन्मुक्ति दिनुपर्ने र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने धारणा राखे । “हाम्रो पार्टीमा आबद्ध नेता कार्यकर्ता हुन वा अन्य राजनीतिक दलमा आबद्ध सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।” नगर अध्यक्ष खत्रीले भने, “दोषी नजिकको र टाढाको हुँदैन दोषी दोषी नै हुन ।”
उनले आफ्नो पार्टीका नेताहरुको नाम आएको विषयमा अदालतको फैसलापछि निर्णय गर्ने बताएका छन् । “अख्तियारले दोषी देखाएर मुद्दा दायर भएका हाम्रो पार्टी सम्बद्ध ब्याक्तीहरुको विषयमा अदालतको फैसलापछी आधिकारिक धारणा सार्वजनिक गर्छ । दोषी देखिएमा कारबाही गर्दै निलम्बन गर्ने कुरा होला ।” उनले भने, “अहिले नै कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा पार्टी भित्र कुनै छलफल र समन्वय भएको छैन ।”
नेकपा माओवादी केन्द्रका टीकापुर नगर इन्चार्ज बालकृष्ण चौधरीले दोषीलाई कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले अदालतको फैसला पछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र निर्दोषलाई छुटकारा दिनुपर्ने बताएका छन् । “पार्टीले पठाएको प्रतिनिधिले गरेको गलत कामको जिम्मेवारी पार्टीले पनि लिनुपर्छ । किनभने हिजो त्यो ब्याक्तीलाई पार्टीले नेतृत्वमा प्रतिनिधिको रुपमा पठाएको हो ।” उनले भने, “गलत काममा संलग्न सबै दोषी हुन । तर सबै दोषी होलान् भन्ने स्थिति पनि छैन । पार्टी भित्रका आरोप लागेका ब्याक्तीहरुको विषयमा जिल्लाले अदालतको फैसला पछि निर्णय गर्छ ।”