शेयेर गर्नुहोस
टीकापुर ११ असार /
टीकापुर नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि ९३ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औं नगर सभा अधिवेशनको मंगलबार बसेको दोस्रो बैठकमा जेष्ठ कार्यपालिका सदस्य रामबहादुर नगार्जीले ९३ करोड ६७ लाख ९७ हजार एक सय २७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन । जसमा नगरपालिका सहित सम्पूर्ण वडाको साधारण चालु खर्च तर्फ १८ करोड र नगरपालिकाको प्राथमिकता प्राप्त निरन्तर चालु तथा पूँजीगत योजनामा २९ करोड ९८ लाख ९३ हजार एक सय २७ रुपैयाँ रहेको छ ।
त्यस्तै समपुरक, विशेष तथा सशर्त बाहेक नगरपालिकाको कुल पूँजीगत खर्च २५ करोड ३ लाख र चालु तर्फ ३० करोड ५० लाख विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त र अन्य समपुरक तथा विशेष अनुदान बजेट पनि पुँजीगत खर्च अन्तर्गत रही यसको परिणाम बढ्ने उल्लेख गरिएको छ । पूँजीगत रकममा वडाको लागि ५ करोड, समपुरकमा ३ करोड ६२ लाख, नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक वडाको लागि एउटा सडक कालोपत्रे गर्न ७ करोड २० लाख र विषयगत शाखाको लागि दुई करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।
वडाहरुको पूँजीगत ५ करोडलाई विभिन्न शिर्षकमा विभाजन गरिएको छ । जसमा पूर्वाधार विकासमा २ करोड ७० लाख, आर्थिक विकास क्षेत्रमा एक करोड, सामाजिक विकासमा एक करोड, वातावरण तथा विपदको क्षेत्रमा १५ लाख र संस्थागत विकास सेवा प्रवाह र सुशासनमा १५ लाख रुपैयाँ रहेको छ ।
बजेटमा विभिन्न स्रोत अनुमान गरिएको छ । जसमध्ये संघीय अनुदान मध्ये वित्तिय समानीकरणमा १८ करोड ३४ लाख, सशर्त अनुदान चालु २७ करोड ९९ लाख र पूँजीगत एक करोड ९८ लाख, राजश्व बाँडफाँडमा १४ करोड १४ लाख चार हजार र विशेष अनुदानमा तीन करोड ६९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तिय समानीकरणमा एक करोड ७३ लाख, राजश्व बाँडफाँडमा ७६ लाख ९१ हजार, समपुरकमा एक करोड ७६ लाख, विशेष अनुदानमा ६० लाख र सशर्त अनुदानमा एक करोड ६० लाख रुपैयाँ रहेको छ । बजेटमा आन्तरिक स्रोततर्फ आन्तरिक आयमा १६ करोड ७५ लाख र मालपोत रजिर्स्टेशनबाट तीन करोड ७५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
बजेट वक्तव्यमा चालु आर्थिक वर्षको एक अर्ब दुई करोड ३७ लाख ४८ हजार दुई २६ रुपैयाँ मध्ये पूँजीगत तर्फ ३१ दशमलव ७१ प्रतिशत र चालु तर्फ ७३ दशमलव दुई प्रतिशत गरी ५६ दशमलव ४२ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । पूँजीगततर्फको विनियोजित रकम ४१ करोड ४१ लाख ४५ हजार ७ सय ६७ मध्ये १३ करोड १३ लाख ३० हजार चार सय ३७ रुपैयाँ र चालुतर्फको विनियोजित रकम ६० करोड ९६ लाख दुई हजार चार ५८ मध्ये ४४ करोड ६२ लाख ७४ हजार पाँच ७७ रुपैया खर्च भएको छ ।
नगर सभाको प्रारम्भमा कार्यपालिकाका जेष्ठ सदस्य रामबहादुर नगार्जीले आर्थिक विधेयक प्रस्तुत गर्दा उक्त विधेयक आफुहरुको हातमा नपरेको भन्दै नगर सभामा विरोध भएको थियो । आवश्यक तयारी नभएका कारण १० गते ११ बजे आव्हान गरिएको सभाको बैठक २ बजे सार्दा पनि सभाको गरिमालाई कायम राख्न नसकेको भन्दै तीनजना वडा अध्यक्ष सहित ६ जना नगर सभा सदस्य नगर सभाबाट बाहिरिएका थिए । जसमा वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरी, वडा नं. ३ का वडा अध्यक्ष ऋषी विक र वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरी सहित कार्यपालिका सदस्य दिपक निशानी र दुईजना नगर सभा सदस्य रहेका थिए ।