टीकापुर बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सब

शेयेर गर्नुहोस


टीकापुर २३ माघ /
टीकापुर बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सब सोमबार सम्पन्न भएको छ ।
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसले लामो समयपछि वार्षिकोत्सब कार्यक्रम मनाएको हो । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पस भएको समयमा बर्सेनि आफ्नो वार्षिकोत्सब मनाउँदै आएको क्याम्पसले सुदुरपश्चिम विश्वविद्यालयमा गएपछि औपचारिक रुपमा सोही दिन कार्यक्रम सञ्चालन गर्न छोडेको थियो । क्याम्पस प्रमुख ढविन्द्र बहादुर रावलको अध्यक्षतामा भएको क्याम्पसको वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदुरपश्चिम क्षेत्रको शैक्षिक विकासमा टीकापुर बहुमुखी क्याम्पसको भुमिका अतुलनीय रहेको बताएका छन् ।
“शैक्षिक क्षेत्रको विकासले अन्य विकासका अवयबहरुलाई पनि माथी उठाउने गर्छ । किनभने शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ, दक्ष जनशक्ति नै विकासको आधारस्तम्भ हो ।” प्रदेश प्रमुख जोशीले भने, “त्यसमा तिनै तहको सरकारले समन्वय सहकार्य गरेर साझा योजनाका साथ काम गर्नुपर्छ ।” उनले टीकापुर बहुमुखी क्याम्पस स्रोतसाधनका हिसाबले निकै महत्त्वपूर्ण क्याम्पस भएको बताउँदै आफ्नो भएको स्रोतको समुचित प्रयोग गर्नसक्यो भने त्यसबाट क्याम्पसले राम्रो प्रगति गर्नसक्ने बताएका छन् ।
क्याम्पसले आर्थिक वर्ष २०७९/०८० को पाँच करोड ३३ लाख ८७ हजार पाँच सय २४ रुपैयाँ ६६ पैसा बराबरको आयव्यय समेत सार्वजनिक गरेको छ । जसको आम्दानी तर्फ शुल्कबाट एक करोड ६९ लाख ७१ हजार ६ सय ४२ रुपैयाँ, तलबभत्ता सञ्चालन निकासाबाट प्राप्त तीन करोड १९ लाख ८३ हजार ९ सय ७६ रुपैयाँ र ४४ लाख ३१ हजार ९ सय ६ रुपैयाँ ६६ पैसा अन्य आम्दानी गरी पाँच करोड ३३ लाख ८७ हजार पाँच सय २४ रुपैयाँ ६६ पैसाको आम्दानी गरेको हो । त्यसैगरी खर्चतर्फ पुँजीगत खर्चमा एक करोड पाँच लाख ६६ हजार ९ सय ९७ रुपैयाँ ९० पैसा, प्रशासनिक खर्च तर्फ ४६ लाख ७९ हजार ७ सय ४९ रुपैयाँ ६३ पैसा, कर्मचारी खर्चमा चार करोड ७७ लाख ६५ हजार ८ सय ३८ रुपैयाँ ६१ पैसा, अन्य सञ्चालन खर्चमा ४५ लाख २८ हजार ६ सय ४० रुपैयाँ ६४ पैसा गरी ६ करोड ७५ लाख ४१ हजार दुई सय २७ रुपैयाँ ६४ पैसा खर्च भएको छ । क्याम्पसले आम्दानी भन्दा एक करोड ४१ लाख ५३ हजार ७ सय एक रुपैयाँ ७८ पैसा नोक्सानी बेहोरेको छ । क्याम्पसले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि ६ करोड ६७ लाख ७० हजारको अनुमानित आय प्रस्तुत गरेको छ ।
क्याम्पसको वार्षिकोत्सबको सञ्चालन सहप्राध्यापक कृष्णप्रसाद जैशी र उमाकान्त भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *