तथ्यको आधारमा समाचार लेख्न अध्यक्ष चौधरीको आग्रह

शेयेर गर्नुहोस


टीकापुर ०५ असार/
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०७९/०८० को महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको गाउँपालिकाको वार्षिक प्रतिवेदनलाई लिएर विभिन्न टीकाटिप्पणी भैरहेको बताउँदै सत्यतथ्य बुझेर टीकाटिप्पणी गर्न आग्रह गरेका हुन । “गाउँपालिकाले ५३ लाखको खाना नास्ता खायो भनेर समाचार सम्प्रेषण हुँदा आधिकारिक रुपमा हामीलाई सोधेको भए वास्तविक कुरा जनमानसमा जान्थ्यो । खासमा त्यो पैसा सबै खाना नास्तामा मात्रै नभई लगायतका शीर्षकमा पनि खर्च भएको छ ।” उनले भने, “खाना, नास्ता लगायत भन्ने शिर्षकलाई राम्रोसँग बुझेर समाचार लेखेको भए पनि नागरिकहरुमा भ्रम सिर्जना हुदैनथ्यो होला ।”
उनकाअनुसार खाना, नास्ता लगायतको खर्च विविध शीर्षकबाट हुने गर्छ । त्यहीँ शीर्षकबाट गाउँपालिकामा कार्यरत एकजना कर्मचारीको २०७४ सालदेखिको तलबभत्ता व्यवस्थापन गर्दा बढी देखिएको उनले बताएका छन् । “एकजना कर्मचारीले पेश्की रकम फिर्ता नगर्दा गाउँपालिकाले तलब रोका गरेको थियो । आर्थिक वर्षको अन्तिममा ती कर्मचारीलाई २०७४ सालदेखिको हुन आउने तलबभत्ता भुक्तानी गर्नुपर्ने भएपछि अन्य शिर्षकमा बजेट नहुँदा त्यहीँ विविध शीर्षकबाट १२ लाख ९१ हजार पाँच सय ५१ रुपैयाँ खर्च भएको छ । त्यस्तै अन्य केही रकम पनि त्यहीँ शीर्षकबाट खर्च भएको छ ।” अध्यक्ष चौधरीले भने, “अरु क्षेत्रमा खर्च भएको रकम पनि खाना नास्तामै जोडिएको हुँदा बढी देखिएको हो । खाना नास्तामा २४/२५ लाख खर्च भएको छ ।”
अध्यक्ष चौधरीले अनर्गल प्रचारबाजी हुने थालेको बताउँदै आधिकारिक बुझेर समाचार लेख्न पनि आग्रह गरेका छन् । उनले जनप्रतिनिधि, कर्मचारीहरु गाउँपालिकाको सर्वोपरि हितको लागि अहोरात्र खटिएको दाबी गरेका छन् । महालेखापरिक्षकको कार्यालयको लेखापरीक्षणका क्रममा देखिएका सुधार गर्नुपर्ने विषयमा सुझाव दिनु र सुझावका आधारमा कार्यालयले सम्परिक्षण गरेर काम गर्ने नियमित प्रक्रिया भएको भन्दै गलत प्रचारबाजीका पछाडि नलाग्न गाउँवासीलाई आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *