शेयेर गर्नुहोस
सम्पादकीय २८ भदौ /
अहिले प्रायः घरको एक ब्याक्ती विदेशमा छ । अधिकांशको रोजाइ भनौं वा बाध्यता विदेश नगएसम्म स्वदेशमै बसेर केही गर्न सकिँदैन भन्ने मानसिकता नभएको प्रायः कम होलान् । सम्भावना नहुँदा, व्याप्त बेरोजगारी समस्याका कारण गरिब तथा मध्यम वर्गीय परिवारका सदस्य विदेशिने गर्छन् भने सम्पन्न परिवारका सदस्य रहरले पनि विदेशिने गरेका छन् । आम्दानीको बलियो स्रोत नहुनु, ग्रामीण क्षेत्रबाट बसाई सरेर शहर केन्द्रित हुने समपनाले पनि धेरैको रोजाइ विदेश बनेको छ । गाउँहरु रित्तो छन् । शुभ अशुभ कामका लागि गाउँमा मान्छे पाइँदैन । पाइए पनि स्थायी रोजगारी भएका वा महिला, बालबालिका र जेष्ठ नागरिकहरु मात्रै देखिन्छन् ।
आज त्यसको असर यतिसम्म परेको छ कि कुनै ब्याक्तीको ज्यान गयो भने त्यसको दाहसंस्कारका लागि लास राखेर परदेशीको बाटो कुर्नुपर्ने बेला आएको छ । परदेश गएको आफन्तका लागि मरेको लासलाई तीन चार दिनसम्म घरमा राख्नुपर्ने बाध्यता कसरी सिर्जना हुँदै आएको छ त्यसको समिक्षा गर्न निकै आवश्यक देखिएको छ । मान्छे मर्दा मलामी नपाउने, शुभ कामका लागि सहयोगी नपाउने स्थितिले दिनप्रतिदिन स्थिति जटिल बनाउँदै गएको छ । अहिले राष्ट्र निर्माणको अठोट लिएर हिडेकाहरुका आफन्तहरु नै नेपालमा बस्न मान्दैनन् । तिनीहरूले ज्यान गुमाउँदा पनि दागबत्ती दिने ब्याक्तीको पर्खाइमा मरेको लास घरमै राख्नुपर्ने बाध्यता छ भने, अभावले भविष्यको सुनौलो सपना देखेर कमाउन गएकाहरु त कति होलान्/ होलान् । जसको बाटो कुर्दै पिडामा रहेको परिवार झन पीडा बोकेर परदेशीको बाटो कुरेर बस्नुपरेको छ ।
यस्तो परिस्थिति आउनमा दोषी को छ । किन नेपालमा सम्भावना देख्न छोडे युवाहरूले । के छ खास विदेशमा त्यस्तो कमाई ? हिजो एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । तीन तहको सरकार छ । त्यो परिवर्तनले वास्तवमा नागरिकहरुले के पाए त ? त्यहीँ अभाव र बाध्यतामा आफ्नो र परिवारको पेट पाल्नको लागि विदेश जाने अवसर ? यहीँ हो १० वर्षे सशस्त्र द्वन्द र २०६२/०६३ को जनआन्दोलनको उपलब्धि । यसैको लागि हजारौंले बलिदानी दिएका थिए ? यदि होइन भने खै त अवसर र सम्भावना ? खै रोजगारी ? आमाबुबाले ज्यान गुमाउँदा एउटा परदेशी छोराले मरेको मुख हेर्नुपर्ने स्थिति, त्यहीँ छोराको लागि हप्ता दिनसम्म मरेको लास घरमा राख्नुपर्ने बाध्यताको सिर्जना सरकार भनौं वा नेतृत्व तहमा पुगेकाहरुकै कारण आएको हो भन्दा अन्यथा नहोला हैन ।