शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २८ माघ /
बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि कैलालीको दक्षिण पुर्वी क्षेत्र र भारतको उत्तर प्रदेशको खिरी जिल्ला तिकुनिया क्षेत्रका पत्रकारहरुले प्रतिबद्धता जनाएका छन् ।
मलवारा डल्फिन मिडिया मञ्च भजनी जोशीपुरको आयोजनामा भएको भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रमका क्रममा बुधबार भारत नेपाल खुला सिमानाका कारण बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन । लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि दुबै देशका सरोकारवालाहरुलाई जिम्मेवार बनाउनका लागि साझा मुद्दाको रुपमा उक्त विषयलाई उठाउनुपर्ने भजनीका पत्रकार जयबहादुर बुढाले बताएका छन् । उनले सिमा क्षेत्रमा हुने आवतजावतको कठिनाइ लगायत विकास निर्माणका साझा मुद्दालाई सामुहिक रुपामा उठाउनुपर्नेमा जोड दिए ।
“लागुऔषध नेपालका लागि मात्रै नभई भारतका लागि नै निकै खतरनाक छ । त्यसलाई हामीले साझा अभियानको रुपमा नियन्त्रण गर्न पहल गर्नुपर्छ ।” उनले भने, “सिमावर्ती क्षेत्रमा हुने अन्य आपराधिक क्रियाकलापलाई रोक्नको लागि पनि दुबै देशका पत्रकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहनुपर्छ ।” बुढाले विकासका साझा मुद्दालाई समन्वयका साथ उठाउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस क्लब तिकुनियाका संरक्षक रुपनारायण मिश्राले लागुऔषध दुर्व्यसनीको जोखिम दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गर्न जरुरी रहेको बताएका छन् । “सबैभन्दा ठुलो कमाइ लागुऔषध कारोबारमा छ । कमाइ राम्रो भएपछि मानिसहरू त्यसलाई लालायित भैरहेका छन् ।” उनले भने, “खुला सिमानाका कारण सहज कारोबार छ । अनि प्रयोगकर्ता बढ्दै जाँदा सिमावर्ती क्षेत्रमा अवैध कारोबारी बढेका छन् । त्यो रोक्नु पत्रकारको काम हुनुपर्छ ।”
प्रेस क्लब तिकुनियाका अध्यक्ष राजिव खत्रीले सिमा क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका दुबै देशका पत्रकारहरुले आपसमा समन्वय र सहकार्य गर्दै संयुक्त मुद्दामा एक भएर काम गर्नुपर्ने बताएका छन् । उनले पेशाको मर्यादालाई आत्मसात गर्दै एकाअर्काको अस्तित्व स्विकार्नुपर्नेमा जोड दिए । प्रालिका अध्यक्ष सुधराम दहितको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जीवन डगौराले गरेका थिए । सञ्चालन सचीव धर्मेन्द्र विष्टले गरेका थिए । उक्त कार्यक्रमले दुबै देशका सम्पर्क व्यक्ति चयन गरेको छ । जसमा नेपालबाट यज्ञ राज जैसी, खेमराज पाण्डे चयन भएका छन् भने भारतबाट आनन्द अग्रवाल र पप्पु सिंह चयन भएका छन् ।










