शेयेर गर्नुहोस
टीकापुर १७ असोज /
नेपाल प्रहरीले सञ्चालन गरेको लागुऔषध दुर्व्यसनी विरुद्धको महाअभियान कार्यक्रम अन्तर्गत वडा स्तरीय समिती गठन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीको संयोजकत्वमा उक्त वडा स्तरीय समिती गठन गरिएको हो । जुन समितिले वडा नं. १ भित्र लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि काम गर्ने छ । समितिमा बिधालयको तर्फबाट नवदुर्गा आधारभूत बिधालयका प्रधानाध्यापक रामप्रसाद भट्टराई, युवा क्लब तथा संघसंस्थाको तर्फबाट झलनाथ खनाल, सुधार गृहको तर्फबाट कल्पेश कुँवर, नागरिक समाजबाट नवराज भट्टराई, महिला स्वास्थ्य स्वयमसेविकाको तर्फबाट मुक्तिधरा शर्मा, आमा समुहबाट विन्द्रा कडायत, बडघरबाट लीला चौधरी, टोल विकास संस्थाबाट उमेश नाथ र धनीराम चौधरी चयन भएका छन् । जुन समितिमा वडाको जनप्रतिनिधिको समेत प्रतिनिधित्व रहने व्यवस्था रहेको छ ।
समिती गठन कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि अभिभावकको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै अभिभावक विहिन बालबालिकाहरु बढी बिग्रेको बताएका छन् । “यसक्षेत्रमा पहाडी जिल्लाबाट अध्ययनका लागि भाडामा बस्ने बढी रहेछन् । यतै घर भएकाहरू पनि घर बाहिर हुँदा बालबालिकाको रेखदेख गर्ने कोहि नहुँदा समस्या बढी छ ।” अधिकारीले भने, “त्यस्ता बालबालिकाहरुलाई सम्झाउने र चेतना जगाउने काम तपाई हामीले गर्नुपर्छ ।”
उनले मदिरा सेवनले पनि सामाजिक रुपमा आपराधिक घटना निम्त्याएको बताएका छन् । “मदिरा सेवनले घरेलु हिंसा अत्याधिक बढाएको छ । त्यसले समाजमा आपराधिक क्रियाकलाप समेत बढाएको छ ।” उनले भने, “यस्ता आपराधिक घटनालाई न्यूनीकरण गर्नका लागि प्रहरी र नयाँ बनेको समितिले सँगै समन्वय र सहकार्य गरेर कामकारबाही अगाडि बढाउने छ ।” कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै समृद्ध समाज निर्माणमा सबै नागरिक जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । उनले निर्माण भएका संयन्त्रहरुलाई सहि रुपमा परिचालन गरेर दुर्व्यसनी लगायतका समस्याहरुलाई न्यूनीकरण गर्न सकिने बताएका छन् ।