शेयेर गर्नुहोस
टीकापुर २६ माघ /
नेतृत्व बिहिन भएको टीकापुर नगरपालिकाको नेतृत्व चयनका लागि सोमबार भएको अनौपचारिक छलफल बिना निष्कर्ष सकिएको छ ।
माघ ५ गतेबाट नेतृत्व बिहिन भएको नगरपालिकाको कार्यवाहक नेतृत्व चयन गर्ने विषयमा कार्यपालिका सदस्यहरु बीच छलफल भए पनि सहमति हुन नसक्दा छलफल बिना निष्कर्ष सकिएको हो । खासगरी साबिकको नागरिक उन्मुक्ति पार्टी र नेकपा माओवादी केन्द्रबाट कार्यपालिका पुगेका सदस्यहरुको आपसी सहमति हुन नसक्दा नेतृत्वको विषयमा अन्योल कायमै रहेको बैठकमा सहभागी वडा नं. २ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य दिपक चौधरीले जानकारी दिएका छन् ।
“हामीले सहमतिको आधारमा कार्यबाहक नगर प्रमुख तोक्ने कुरामा जेष्ठतालाई मध्यनजर गर्दै अगाडि बढौ भनेका थियौं ।” उनले भने, “उहाँहरु आपसमा मिल्न सक्नुभएको छैन । त्यसकारण नेतृत्व चयनका लागि सहमति जुट्न सकेन ।” उनले हालको नेपाली कम्युनिस्ट पार्टीबाट नगरपालिकाको नेतृत्व चयन गर्ने विषयको सहमति नहुँदासम्म कार्यालयका कामहरूमा समस्या नपर्ने मध्यमार्गी बाटो खोज्न आग्रह गर्दा पनि सहमति नजुटेको बताए ।
खासगरी नगरपालिकामा नेतृत्व नहुँदा सबैभन्दा बढी राज्यबाट उपचार खर्च प्राप्त गरिरहेका सेवाग्राही मारमा परेका छन् । “नागरिकहरूले पाउँदै आएको स्वास्थ्य बापतको सहयोग शुल्क पाउन सकेका छैनन् । त्यसमा नगर प्रमुखको हस्ताक्षर अनिवार्य चाहिन्छ ।” उनले भने, “अन्य संघ तथा प्रदेशको ससर्त अनुदानका विषयमा समेत केही उल्झन नेतृत्व नहुँदा देखिन थालेको छ ।”
नगरपालिकामा १७ जना कार्यपालिका सदस्य छन् । जसमा नेपाली कम्युनिस्ट पार्टीबाट ११ जना छन् भने नेपाली काँग्रेसबाट ५ जना छन् । त्यसैगरी एकजना एमालेबाट छन् । नेकपाबाट तीनजनाको दाबी गर्दै आएका छन् । जसमा वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने र कार्यपालिका सदस्य दिपक निशानीको दाबी छ । उता जेष्ठ कार्यपालिका सदस्य रामबहादुर नगार्जीलाई जिम्मेवारी दिनुपर्ने माग काँग्रेसले राख्दै आएको छ ।










