शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ३२ असार/
टीकापुर नगरपालिकाको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले टीकापुर नगरपालिकाको नगरपालिकाले गर्दै आएका कामकारबाहीका बारेमा जनप्रतिनिधि तथा कर्मचारीमाथी प्रश्न गरेका छन् । विकास निर्माण देखि अएवा प्रवाह र सुशासनका क्षेत्रमा नगरपालिकाले अझै नागरिक मैत्री काम गर्न नसकेको बताउँदै त्यसका लागि गम्भीर हुन सुझाव दिएका छन् ।
सहभागी एकराज पण्डितले बजेट खर्च भएअनुसारको त्यसको परिणामको खोजी गर्न पनि आवश्यक रहेको बताएका छन् । प्रकाश खड्काले सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको कार्यान्वयन हुन सकेपछि मात्रै कार्यक्रमको औचित्य हुने बताउँदै नगरपालिकाको बजेट नेता र जनप्रतिनिधि मुखी मात्रै हुनेगरेको बताएका छन् ।
कटक थापाले किसानहरूको समस्यामा स्थानीय सरकार गम्भीर हुन नसकेको बताउँदै सामुदायिक छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारको भुमिका फितलो देखिएको बताएका छन् ।
सहभागीहरुले उठाएका प्रश्नको जवाफमा नगर प्रमुख रामलाल डगौंरा थारुले टीकापुर बनाउने अभिप्रायका साथ आफुहरुलाई जनताले जनमत दिएको बताउँदै टीकापुरलाई सुन्दर, शान्त र सबैको समान सहभागिता हुने गरी नगरपालिकाले योजना बनाएको बताएका छन् । उनले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका कुराहरुलाई सुझावको रुपमा ग्रहण गरेको बताउँदै टीकापुरलाई सबैको साझा टीकापुर बनाइने बताएका छन् । ….अडियो…..
कार्यक्रममा नगर उपप्रमुख खडक बहादुर शाहले आउँदो चालू आर्थिक वर्षमा कुनै पनि आयोजनाको म्याद कुनै अनि बहानामा थप नहुने बताएका छन् । उनले कुनै भवितव्यं घटनाको अवस्थामा मात्रै त्यस्तो अवस्था आउन सकिने बताउँदै सुशासन र आयोजनाको अनुगमनका लागि तेस्रो पक्षलाई जिम्मेवारी दिइएको बताएका छन् । ….अडियो ….. “ठुला आयोजना वा केन्द्र र प्रदेश सरकारका आयोजनाको निगरानी गर्न सकिए पनि त्यसलाई नियमन गर्न सकिने अवस्था छैन ।” नगर उपप्रमुख शाहले भने, “हामिले गरेको कामको परिणाम अर्को वर्षबाट देखिने छन् । हामीले कामको गति दिन्छौं ।”
नगर उपप्रमुख शाहले टीकापुरको शान्तिसुरक्षाका लागि टीकापुर प्रहरीले ड्रोन उडाउने बताएका छन् । “टीकापुरको शान्तिसुरक्षाका लागि प्रहरीले ठाउँठाउँबाट ड्रोनबाट सुरक्षा निगरानी बढाउने छ ।” नगर उपप्रमुख शाहले भने, “अब टीकापुर बजार राती १० बजेसम्म बजार खुल्छ । त्यसका लागि व्यापारीहरुसँग छलफल गरेर आवश्यक प्रक्रियामा अगाडि बढ्छ ।” उनले आगामी आर्थिक वर्षमा नगरपालिकाले पुर्वाधार एम्बुलेन्स खरिद गर्ने र समस्या परेको क्षेत्रमा तुरुन्त काम हुने बताएका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले समयमै आयोजनाको काम सुरु नहुँदा समयमा सम्पन्न हुन नसकेको बताएका छन् । निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुरका राम्रा भन्दा नराम्रा कुराहरूको बढी प्रचारप्रसार बढी हुने गरेको बताएका छन् । उनले नगरवासीका दृष्टिकोण नै सकारात्मक कुरामा केन्द्रित हुन आवश्यक रहेको बताउँदै सोचाइमा सकारात्मक कुराहरू नआएसम्म राम्रा कुराहरु ओझेलम पर्दै जाने बताएका छन् ।
टिप्पणी कर्ता भिमराम चपाँइले सबैको चासो टीकापुरको स्तर वृद्धि गर्ने तिर केन्द्रित हुनुपर्ने बताउँदै भित्र आन्तरिक रुपमा आफ्नो भाग खाने र बाहिर विरोधमा देखिनेहरुका कारण समस्या भएको बताएका छन् । उनले विकासमा उपभोक्ताहरु मार्फत भएको विकासमा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्दै भने, “उपभोक्ता मार्फत काम गराउनु भनेको मेरो भाग पनि दे, अनि आफू पनि खा भन्नू सरह भएको छ ।”
टिप्पणी कर्ता केशर बहादुर कुँवरले नागरिकहरूले दिएको सुझावलाई मात्रै कार्यान्वयन गरेपनि थुप्रै कुराको सुधार हुनसक्ने बताउँदै सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताएका छन् । उनले उपभोक्ता मार्फत भएको काम गुणस्तरीय हुन नसकेको भन्दै ठेक्का मार्फत विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा निवर्तमान नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले सेवा प्रवाहको काममा नगरपालिकाले हिजोका दिनमा पनि कसैलाई काखा पाखा नगरेको बताउँदै त्यसलाई अहिलेको जनप्रतिनिधि र कर्मचारीहरुले पनि सन्तुलनमा राखेर अगाडि बढ्ने विश्वास व्याक्त गरेका छन् । कार्यक्रममा शाखागत रुपमा चालू आर्थिक वर्षमा भएको कामकारबाहीको बारेमा शाखा तथा उपशाखाका प्रमुखहरुले प्रतिवेदन पेस गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार एकेन्द्र तिमिल्सिनाले गरेका थिए ।