नगरपालिकाको १८ औं नगर सभा सुरु

शेयेर गर्नुहोस


टीकापुर २९ पुस /
टीकापुर नगरपालिकाको १८ औं नगर सभा अधिवेशन सुरु भएको छ ।
नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा सुरु भएको नगरपालिकाको १८ औं नगर सभा अधिवेशनले चालू आर्थिक वर्षको पुस २७ गतेसम्मको आयव्यय प्रस्तुत गरेको छ । नगरसभा त सदस्य तथा वडा नं. १ का वडा अध्यक्ष मोहन विकले प्रस्तुत गरेको नगरपालिकाको कुल ९८ करोड ३८ लाख ६२ हजार पाँच सय ३५ रुपैयाँ बजेटको २१ दशमलव ७८ प्रतिशत अर्थात २१ करोड ४३ लाख ६१ हजार ९ सय ९७ रुपैयाँ खर्च भएको देखाएको छ । जसअनुसार चालू तर्फको ६५ करोड ४४ हजार ७९ हजार ७ सय ७१ रुपैयाँ विनियोजन भएकोमा २० करोड १२ लाख २५ हजार तीन सय २९ रुपैयाँ खर्च भएको छ । जुन ३० दशमलव ७५ प्रतिशत चालू तर्फको बजेट खर्च भएको छ ।
नगरपालिकाको पुँजीगत बजेट खर्चको अवस्था भने निकै चिन्ताजनक देखिएको छ । नगरपालिकाले विनियोजन गरेको पुँजीगत बजेटको तीन दशमलव ९९ प्रतिशत बजेट खर्च भएको देखिन्छ । नगरपालिकाले ३२ करोड ९३ लाख ८२ लाख ७ सय ७३ रुपैयाँ बजेट विनियोजन गरेकोमा एक करोड ३१ लाख ३६ हजार ६ सय ६८ रुपैयाँ खर्च भएको देखिन्छ । नगरपालिकाले वडातह तथा शाखागत मार्फत विनियोजन गरेको बजेट खर्चको स्थिति झनै चिन्ताजनक देखिएको छ । वडाले पुँजीगत तर्फको बजेटको प्रगति शून्य छ । तर, योजना कार्यान्वयनमा गए पनि त्यसको भुक्तानी प्रक्रिया नभएका कारण खर्च कम देखिएको बताइएको छ ।
नगरपालिकाको प्रगति विवरण कम्जोर भएकोमा नगर सभाका सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । नगर सभा सदस्य गणेश घर्तिमगरले चालू आर्थिक वर्षको छ महिना बितिसक्दा समेत बजेट खर्चको स्थिति न्यून रहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले विनियोजन बजेट समयमा खर्च हुने गरी जनप्रतिनिधि र कर्मचारीहरुलाई काममा लाग्न आग्रह गरे । नगर सभा सदस्य कमला विश्वकर्माले पनि बजेट खर्च हेर्दा नगरपालिकाको विकासको गति संतोषजनक नभएको बताएकी छन् ।
८ करोड ५० लाख आन्तरिक स्रोतको अनुमान गरेको नगरपालिकाले चार करोड १३ लाख ८१ हजार पाँच सय ७५ अर्थात ४८ दशमलव ६८ प्रतिशत आन्तरिक राजश्व संकलन भएको छ । नगरपालिकाले विभिन्न स्रोतबाट प्राप्त गर्ने आम्दानीको ४१ प्रतिशत प्राप्त भएको भनेको छ ।
नगर सभाले केही योजना तथा बजेट संशोधन तथा रकमान्तर समेत गरेको छ । साथै चालू आर्थिक वर्षको विनियोजन विधेयकलाई आर्थिक वर्ष २०८२/०८३ को सेवा तथा कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ समेत पारित गरेको छ । जसअनुसार नगरपालिकाले चालू आर्थिक वर्षको ९८ करोड ३८ लाख ६२ हजार पाँच सय ३५ रुपियाँबाटसंशोधन गर्दै एक अर्ब तीन करोड ४१ लाख ५४ हजार ७ सय ८ रुपैयाँ पुर्याइएको छ । जसमा आठ करोड ५० लाख रुपैयाँ गतवर्षको अल्यालाई समेटिएको छ भने बाँकी तीन करोड पुरानो स्रोत सुनिश्चित हुन नसकेको योजनाको भुक्तानीको बजेट समावेश गरिएको नगर सभाका सदस्य सचीव सुमन धितालले जानकारी दिएका छन् ।
साथै आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रस्तुत गरेको छ । उक्त कार्यविधि अध्ययनका लागि नगर सभाका सदस्यलाई सात दिनको समय दिइएको छ । १८ औं नगर सभाको दोस्रो बैठक माघ ५ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *