नगरपालिका विपन्न परिवारका लागि आवास निर्माण गर्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी २९ फागुन/
कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नं. १ र वडा नं. ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षीत उच्च आवास निर्माण गर्ने भएको हो । जसअनुसार वडा नं. १ मा २५ वटा र वडा नं. ८ मा २० वटा सुरक्षीत उच्च आवास निर्माण गरिनेछ ।
बर्सेनि बाढी र डुवानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षीत उच्च आवास निर्माण हुने भएपछि खुशी भएका छन् । वडा नं. ८ की सुशीला पाण्डे वर्षौदेखिको बाढीको पिडाबाट छुटकारा पाउने आशामा हुनुहुन्छ । “वर्षातको समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ । डुवान कम भएर घर फर्किदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्रै बस्न लायक हुन्छ ।” उहाँ भन्नुहुन्छ, “उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन । सुरक्षित छु भन्ने आभास हुने छ ।”
सोही ठाउँकी शारदा कुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुशी हुनुहुन्छ । वर्षौदेखि कच्ची माटोको घरमा बस्दै आएको उहाँको परिवारले सुरक्षीत आवास पाउन लागेको हो । “विगत जस्तो समस्या अब आउने छैन । घरको खाद्यान्न बाढीले बगाउने छैन । घरका भाडाकुडा सुरक्षीत रहनेछन् ।” उहाँ भन्नुहुन्छ, “बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन् । परिवारले सुरक्षीत छु भन्ने आभास गर्नेछ ।”
विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ । आवास निर्माणका लागि प्रती घर तीन लाख नगरपालिकाले बेहोर्ने छ भने दुई लाख ५० हजार सहयोगी संस्थाले बेहोर्ने छ । त्यसमा करिब एक लाख ६५ हजार लाभान्वित परिवारले बेहोर्नुपर्ने छ । वडा नं. ८ मा निर्माण हुने २० वटा को लागतमा सहयोगी संस्थाले प्रती घर दुई लाख ६५ हजार लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिनुभयो ।
सुरक्षीत आवास अन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहनेछन् । बाहिर बरण्डा रहने छ भने शौचालय रहने छ । तर वडा नं. १ मा निर्माण हुने आवासमा एउटा किचन थप हुने कार्यक्रम संयोजक आग्रीले बताउनुभयो । “नगरपालिकाको समन्वयमा यसभन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ ।” उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भैसकेको छ ।” सम्झौता अनुसार असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित, र एकल महिलाहरूलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगर प्रमुख केवल चौधरीको भनाई छ । “स्थानीय सरकार र गैरसरकारी संघसंस्थासँग समन्वय गरेर कैयौं विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ र गरिरहेका छौँ ।” उहाँ भन्नुहुन्छ, ” सिमित स्रोतसाधनका बाबजुद पनि नागरिकहरूलाई सरकार छ भन्ने अनुभुतीको प्रयास गरिरहेका छौँ ।”
नेटवर्कले भने कैलालीमा मात्रै एक सय भन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ । कैलाली र कञ्चनपुर गरि एक सय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ । उनका अनुसार कैलारी गाउँपालिकामा २७ घर, घोडाघोडी नगरपालिकामा २२ घर र वर्दगोरिया गाउँपालिकामा १२ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *