शेयेर गर्नुहोस
टीकापुर २१ जेठ /
टीकापुर नगरपालिकाको पाँचजना वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले नगर प्रमुखको गतिविधि एकलौटी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
नगर प्रमुखले मनोमानी तथा स्वच्छाचारी ढंगबाट नगरपालिका चलाउन खोजेको र कार्यपालिका सदस्य हुनुको हैसियतले पटकपटक सचेत गर्दा पनि अटेर गरेको प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराएका छन् । वडा नं. २ का दिपक चौधरी, वडा नं. ३ का ऋषी श्रीपाइली, वडा नं. ६ का बलीराम चौधरी, वडा नं. ७ का यज्ञ प्रसाद न्यौपाने, वडा नं. ८ का दीर्घबहादुर ठकुल्ला, वडा नं. ९ का लौटन चौधरी, कार्यपालिका सदस्य लबरी चौधरी, राजरानी चौधरी र रामबहादुर नगार्जीले संयुक्त प्रेस बिज्ञाप्ति जारी गरेका हुन ।
जारी बिज्ञाप्तिअनुसार जेठ १५ गतेसम्म आउने आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया पाचौं चरणमा पुग्नुपर्ने भएपनि कुनै प्रक्रिया आजसम्म सुरु नभएको, विकास र सुशासनमा महत्त्व राख्ने राजस्व आम्दानीमा प्रभाव पार्ने कार्यमा बेवास्ता गरिनुका साथै राजस्व चुहावट हुने वातावरण सिर्जना भएको, २०८० मंसिर २४ गतेको कार्यपालिकाको बैठकका निर्णयहरु बहुमत कार्यपालिका सदस्यले २०८० माघ ४ गते प्रेस बिज्ञाप्ति मार्फत कार्यपालिका सदस्यले उठाएका विषय हालसम्म सम्बोधन नभएको, तेर्हौं नगर सभाले पारित गरेका योजनाहरु औचित्य पुष्टि नगरी आफू अनुकुल संशोधन गरेकोले तत्काल ती योजनालाई जस्ताको त्यस्तै राख्नुपर्ने माग राखिएको छ ।
त्यसैगरी देशमा आर्थिक मन्दी भएको अवस्थामा अनावश्यक फजुल खर्च नगर्न पटकपटक नेपाल सरकारका विभिन्न नियमनकारी निकायबाट पत्राचार गरेको विषयलाई समेत अवज्ञा गर्दै आफुखुशी कार्य गर्ने कार्यलाई अविलम्ब रोक्नुपर्ने, कार्यपालिकाको बैठकमा छलफल नै नभएका एजेण्डाहरु मनोमानी डंगले थप गरी पटकपटक निर्णय पुस्तिकामा आफ्नो अनुकुलताका विषयहरु समावेश गरी निर्णयहरु वेबसाइटमा हाल्ने प्रवृत्तिको सुधार गर्नुपर्ने माग राखिएको छ । आफुहरुले राखेका माग तीन दिनभित्र सम्बोधन नभए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले नगर प्रमुखको रबैयाले नगरपालिकालाई दीर्घकालीन रुपमा ठूलो असर पर्ने चिन्ता व्यक्त गरेका छन् । उनले नगरपालिकालाई दुरगामी असर पर्ने गतिविधि बढ्दै गएको बताएका छन् । “सबै कुरा एकलौटी हुन थालेपछि त्यसले पक्कै पनि समग्र नगरपालिकालाई राम्रो हुँदैन । हरेक समस्याको समाधान छलफलबाट हुनसक्छ । त्यो भावना नगर प्रमुखमा देखिएन ।” उनले भने, “हाम्रै अगाडि नराम्रो भएको हेरेर बस्न सक्ने स्थिति पनि छैन । यदि यस्तै हो भने हामी सशक्त भएर अगाडि बढ्छौँ ।”
वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले नगर प्रमुखलाई फुटबल खेलमा गोल हान्ने र गोल किपरको भुमिका एउटैले निभाएको आरोप लगाए । उनले वडाले निर्णय गरेर पठाएका आयोजनाहरुमा पनि आफू अनुकुल बनाएर प्राथमिकताको योजना कटौती गर्ने काम हुँदै आएको बताए । वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीले सार्वजनिक संस्थालाई व्याक्तिगत जस्तो बनाउन कसैलाई नखोज्न आग्रह गरे । वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले नगर प्रमुखको एकलौटीको रबैयाले जनताको अपेक्षा अनुसार प्राथमिकताको आधारमा काम गर्न नसकिएको बताएका छन् ।
माओवादी केन्द्रको एक्यवद्धता
टीकापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिहरुले जारी गरेको प्रेस विज्ञप्ति प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको बताउँदै जनप्रतिनिधिहरुले उठाएका विषयहरु प्रति पार्टीको पूर्ण साथ, समर्थन एवम् ऐक्यवद्धता रहेको प्रेस बिज्ञाप्ति मार्फत दिएको छ ।
पार्टीका टीकापुर नगर सचीव खुशीराम चौधरी आमुलद्वारा जारी गरिएको बिज्ञाप्तिमा टीकापुर नगरपालिका नगर प्रमुखको अपरिपक्व, स्वेच्छाचारी गतिविधिको घोर विरोध गर्दै, जनप्रतिनिहरुले उठाएका विषयहरुको अविलम्ब सुनुवाई नभए जनप्रतिहरुले गर्ने न्यायोचित संघर्षमा पार्टीको साथ समर्थन रहने जानकारी समेत गराइएको छ । “समग्र टीकापुरको हक हितका लागि हामी सदैव सत्य र न्यायको पक्षमा रहने र हरेकखाले गलत प्रवृति र चिन्तनको भण्डाफोर गर्दै, टीकापुरमा सुशासनका लागि सदैव अग्रसर रहने प्रतिवद्दता पनि हाम्रो पार्टीको तर्फबाट गर्न चाहन्छौं ।” बिज्ञाप्तिमा भनिएको छ ।