नगर प्रमुखद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शेयेर गर्नुहोस


टीकापुर २६ चैत /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।
टीकापुर नगरपालिका भित्रको विभिन्न विकास आयोजनामा लगानी सहितको योजना माग गर्दै नगर प्रमुख थारुले आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री रञ्जिता श्रेष्ठ र पार्टीका वरिष्ठ नेता दामोदर पण्डित सहित प्रधानमन्त्री भेट्न पुगेका नगर प्रमुख थारुले सात बुँदे ज्ञापन पत्र बुझाएको बताइएको छ ।
जसमा टीकापुर नगरपालिकाको गुरु योजना सहित स्मार्ट सीटी निर्माणका लागि पहल गर्नुपर्ने, टीकापुर नगरपालिका वडा नं. ५ दौलतपुर स्थित सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्कि पुल निर्माणका लागि योजना सहित बजेट व्यवस्थापन गरिनुपर्ने, टीकापुरमा विगत लामो समय देखि सञ्चालनमा नरहेको टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने, सत्ती भन्सार कार्यालयमा विगतमा द्वन्द्वका कारणले विस्थापित प्लान्ट क्वारेन्टाईन र खाद्य गुणस्तर कार्यालयको आफ्‌नै जग्गामा भवन समेत रहेको जानकारी गराउँदै सो प्लान्ट क्वारेन्टाईन र खाद्य गुणस्तर कार्यालय यथाशिग्र पुनः स्थापना गरिनुपर्ने माग राखिएका छन् ।
साथै टीकापुर क्षेत्रमा वाणिज्य कार्यालय र यातायात कार्यालय स्थापनाको लागि पहल गर्नुपर्ने, टीकापुर नगरपालिका वडा नं. ७ वेलुवाबाट भजनी नगरपालिका जोड्‌ने बाटोमा पर्ने पथरैया नदीमा पक्कि पुल निर्माणका लागि पहल गरिनुपर्ने, टीकापुर वसपार्कदेखि पार्क जाने बाटो ढल निकास सहित कालोपत्रे निर्माणका लागि पहल गरिनुपर्ने र टीकापुर नगरपालिकाको बाहिरी चक्रपथ निर्माणका लागि पहल गर्नुपर्ने माग राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *