शेयेर गर्नुहोस
टीकापुर २५ मंसिर /
नवजीवन सहकारी संस्था लिमीटेड आर्थिक वर्ष २०७८ / ०७९ मा ११ करोड, ५६ लाख ३६ हजार रुपैया सञ्चालन मुनाफा कमाउन सफल भएको छ ।
शनिबार टीकापुरमा भएको सहकारीको २९ औं इकाईगत वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष देवबहादुर बमले उक्त जानकारी गराएका थिए । अध्यक्ष बमले २०४९ सालमा सामुदायिक बचत कोषबाट शुरु भई २०५० साल मंसिर ३० गतेबाट बैधानिक रुपमा सञ्चालनमा आएको सहकारीमा अहिले ३० हजार ४ सय ४२ शेयर सदस्य र २६ करोड ९५ लाख ६८ हजार शेयर पूँजी रहेको बताए ।
साधारणसभामा बोल्दै टीकापुर नगरपालिकाका उप–प्रमुख खडकबहादुर शाहले नवजीवन सहकारी यस क्षेत्रकै अग्रणी सहकारी भएकाले यसले अवका दिनमा रुपैया संकलन र लगानी मात्र नभई आयात प्रतिस्थापन तथा उत्पादनमा जोड दिनुपर्ने बताए । टीकापुर नगरपालिकाले पनि केहि दिन भित्रै टीकापुरमा लगानी सम्मेलन गर्न लागेको र त्यसमा सहकारीले पनि सहयोग गर्नु पर्ने बताए ।
टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले साना ऋणीहरुका लागि सहकारीबाट राम्रो सहयोग पुगेको बताउँदै सामाजिक क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिए ।
टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले अन्य बैंक तथा वित्तिय संस्था भन्दा सहकारीहरु व्यापारीहरुका लागि बढी सहयोगी भएकाले त्यो सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।
सहकारीका उपाध्यक्ष चेतराज ओझाले स्वागत गरेको कार्यक्रमलाई सहकारीका महाप्रबन्धक डम्बरसिंह गुरुले सञ्चालन गरेका थिए । साधारणसभामा असल ऋणी राधा पोख्रेल, राजन चौधरी, चन्द्रादेवि भण्डारी, खगेन्द्र चौधरी, दाताराम चौधरी र सञ्चु चौधरीलाई सम्मान गरिएको थियो