शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०९ जेठ /
टीकापुर नगरपालिकाका निर्वाचन अधिकृत पुष्कर खड्काले जनताले विश्वास गरेर जनमत दिई नेतृत्वमा पठाएजस्तै जनताको सेवक भएर जनप्रतिनिधिहरुले काम गर्न सक्नुपर्ने बताएका छन् ।
नटीकापुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचितको प्रमाणपत्र हस्तान्तरण गर्दै खडकाले यस्तो बताएका हुन । “जसरी जनताको माझमा भोट माग्नको लागि योजना र घोषणापत्र लिएर जानुभएको थियो, त्यसैगरी त्यसलाई कार्यान्वयन गर्नतर्फ पनि अग्रसर हुनसक्नुपर्छ ।” निर्वाचन अधिकृत खड्काले भने, “मलाई यस्ले मत दियो त्यसैको काम गर्छु भन्ने कुरा कहिल्यै नगर्नुहोला । सबै जनताको मन जित्नेगरी सबैलाई साझा बनाएर अगाडि बढ्नुहोला ।” उनले जित्ने र हार्ने कुरालाई बिर्सेर अब सबै एजेन्डालाई स्थापित गर्दै समग्र पालिकाको विकासको लागि लाग्न सुझाव दिएका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमबहादुर शाहीले जनताप्रतिको उत्तरदायित्वलाई पूरा गर्नेगरी विकास र समृद्धिमा जोड दिन आग्रह गरेका छन् । उनले विकासका लागि पनि शान्तिसुरक्षाका लागि पनि जनप्रतिनिधिहरुको भुमिका महत्त्वपूर्ण हुने बताउँदै त्यसका लागि जनप्रतिनिधिहरुको र प्रहरीको भुमिका सन्तुलन हुन आवश्यक रहेको बताएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहले निर्वाचनमा जनताले जसरी विश्वास गरेर जनताले मतदान गरे त्यसैगरी जनताको विश्वासअनुसार जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताएका छन् । उनले जनतालाई कुनै भेदभाव नहुने गरी नगरपालिकालाई समेत सन्तुलन राखेर काम गर्न सुझाव दिएका छन् ।
निर्वाचन अधिकृत खडकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत लक्ष्मी वडले सञ्चालन गरेकी थिइन् । त्यस्तै जानकी गाउँपालिकामा निर्वाचन अधिकृत विश्वदिप बेसराले जनताले विश्वास जितेर आएका जनप्रतिनिधिहरुले अब जनताको मन जित्नेगरी काम गर्नसक्नुपर्ने बताएका छन् । आइतबारनै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सबैले गरेको सहयोगको प्रशंसा गर्दै बसेराले यसैगरी गाउँपालिकालाई पनि सधैभरी शान्तिपूर्ण अवस्थामा राख्न आग्रह समेत गरेका छन् ।
“तपाईहरुले जनताको मन जितेर नेतृत्वमा आउनुभएको छ । अब तपाइले जनताको मन जित्न सक्नुपर्छ । भोलि कार्यकाल सम्पन्न हुँदा पनि जनताको माझमा जा तपाईको प्रशंसा यस्तै कायम होस् ।” बेसराले भने, “निर्वाचनमा हुँदा पार्टी र बिचारले जो जहाँ भएपनी अब निर्वाचित जनप्रतिनिधिहरु सबैको साझा भएर प्रस्तुत हुन सक्नुपर्छ । सबैको सहयोग र समन्वयबाट विकास र समृद्धिको आधारशिला कोर्न सकेपछि मात्रै जनप्रतिनिधि सफल भएको मान्न सकिने छ ।”
कार्यक्रममा निर्वाचित गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले गाउँपालिकामा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सकेपछि विकासका कामहरूलाई सहजरूपमा अगाडि बढाउन सकिने बताउँदै आफुले त्यसैलाई बढी प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका छन् । उनले गाउँपालिकामा स्वस्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै निर्वाचनको समयमा जनताको माझमा जाँदा लिएर गएका घोषणापत्रलाई यथोचित कार्यान्वयन गर्ने प्रतिबद्धता समेत ब्याक्त गरेका छन् ।
निर्वाचन अधिकृत बसेराको अध्यक्षतामा भएको निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी, उपाध्यक्ष उमा महतो, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायको उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत नारायबहादुर विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमृता रावलले गरेकी थिइन ।