नागरिकहरूमा सरकार प्रतिको दृष्टिकोण फरक हुँदै गएको छ : वडा अध्यक्ष विक

शेयेर गर्नुहोस

टीकापुर ३० जेठ
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले नागरिकहरूमा सरकार प्रतिको दृष्टिकोण फरक हुँदै गएको बतएका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ को आयोजनामा टोल विकास संस्था तथा बरघरहरुलाई अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमका क्रममा वडा अध्यक्ष विकले सरकार प्रती नागरिकहरूको दृष्टिकोण राम्रो नभएको बताएका हुन । उनले नागरिकहरूमा देखिएको गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सकारात्मक दृष्टिकोणको विकास हुनुपर्ने बताए ।
“नागरिकहरुले सामाजिक संजालमा देखिएका नकारात्मक कुरालाई बढी दृष्टिगत गर्दा सरकार प्रतिको दृष्टिकोण नकारात्मक बन्दै गएको छ ।” उनले भने, “सरकारका सबै कामहरू नराम्रो छन् भन्न मिल्दैन । राम्रा कुराहरूलाई आत्मसात गर्दै नराम्रा कुरामा रचनात्मक सुझाव चाहिएको छ ।” उनले गलत बुझाइले राम्रा कार्यलाई पनि नराम्रो बनाउने भन्दै सकारात्मक सोचको विकास गर्न आग्रह पनि गरेका छन् ।
सरकार र जनता बीचको बुझाई समान भएपछि मात्रै विकास हुने बताउँदै वडा अध्यक्ष विकले आफुहरुको कार्यकालको तीन वर्ष पूरा हुँदै गर्दा त्यसको मुल्यांकन नागरिकहरूले गर्नुपर्ने बताए । “हामीले तीन वर्ष जनताको माझमा बिताइसकेका छौँ । जति काम गर्नुपर्ने थियो , जुन अपेक्षा जनताको थियो, त्यो कति गर्न सकियो भन्ने कुरा जनताले नै मुल्यांकन गर्लान् ।” उनले भने, “जनताप्रति हामी आज पनि उत्तरदायी छौँ, तर जनतामा त्यो विश्वास कायम गर्न सकिएको छैन ।”
सबै वडाका नागरिकहरूलाई सँगै सहभागी गराएर कार्यक्रम सञ्चालन गर्न सक्ने ल्याकत नरहेको बताउँदै वडा अध्यक्ष विकले वडा भित्रबाट पनि प्रतिनिधिमुलक रुपमा सहभागी गराएर हरेक टोलको समस्या बुझ्ने र समाधानको प्रयास भैरहेको बताएका छन् । पछिल्लो समयमा जनताले आफ्ना आवश्यकताको पहिचान गरी त्यसलाई समाधान गर्न सक्ने काम टोल विकास संस्थाबाट हुँदै आएको पनि बताए ।
“अहिले बजेटको प्रक्रियामा छौँ । टोल विकास संस्थाले आवश्यकताको आधारमा बजेट माग गर्दा त्यसलाई व्यवस्थापन गर्न सजिलो हुँदै गएको छ ।” उनल भने, “टोल विकास संस्थालाई बलियो बनाउन सक्यो भने समाजलाई विकासको बाटोमा डोर्‍याउन समय लाग्ने छैन भन्ने बुझाइ हाम्रो छ ।” कार्यक्रममा वडा सदस्य प्रेमकला चौधरीले तालिमलाई प्रभावकारी बनाउनका लागि सहभागीको तदारुकता लगनशीलता आवश्यक पर्ने बताएकी छन् ।
कार्यक्रम ३१ गतेसम्म सञ्चालन हुने छ । वडामा रहेका करिब ६६ टोल विकास संस्थाका अध्यक्ष, सचीव र कोषाध्यक्ष सहित बरघरहरुको सहभागिता कार्यक्रममा रहेको छ । कार्यक्रमलाई तीन भागमा विभाजन गरेर सञ्चालन थालिएको वडा सचीव ताराबिक्रम रानाले बताएका छन् ।
कार्यक्रममा टोल विकास संस्थाको औचित्य तथा आगामी रणनीतिको बारेमा सहकर्मी समाजका प्रमुख नवराज जोशीले सहजीकरण गरिरहेका छन् भने योजना माग लगायत बजेटको विषयमा सवइन्जिनियर गम्भिरसिंह साउँदले सहजीकरण गरिरहेका छन् । उद्घाटन कार्यक्रमको स्वागत वडा सदस्य चरण देवि विकले गरेकी थिइन भने सञ्चालन वडा सचीव रानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *