शेयेर गर्नुहोस
टीकापुर ०९ वैशाख /
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संरचना निर्माणसँगै त्यसको सदुपयोग र संरक्षण आवश्यक हुने बताउनुभएको छ ।
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ स्थित बहुउद्देश्यीय समावेशी सुरक्षीत आश्रयस्थलको भवन उद्घाटन गर्नुहुँदै निर्माण भएका संरचना सदुपयोग सहित संरक्षण हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले लाखौं करोडौंका संरचना बिना योजना निर्माण हुँदा त्यसबाट राज्यको ठूलो रकम दुरुपयोग हुन पुगेको बताउनुभयो । “योजना बनाउँदा आवश्यकतालाई ख्याल गर्न नसक्दा ठूलो रकम खेर गएको छ ।” उहाँले भन्नुभयो, “अनावश्यक क्षेत्रमा बढी रकम खर्च हुँदा आवश्यकताका आधारमा बनेका संरचनाहरुले नागरिकहरु सन्तुष्ट हुन सक्ने स्थिति छैन ।”
आगामी बजेटमा प्रदेश सरकारले भवन निर्माण देखि अन्य विकासका आयोजनाहरुमा औचित्य पुष्टि नभए प्राथमिकतामा नराख्ने मुख्यमन्त्री शाहले बताउनुभएको छ । “योजनाको औचित्य पुष्टि भएमात्र प्रदेश सरकारको प्राथमिकतामा त्यो योजना पर्नसक्ने छ ।” उहाँ भन्नुहुन्छ, “बनेका योजनाको अभिभावकको जिम्मेवारी कसले लिने र त्यसको उपयोग सहितको संरक्षणको ग्यारेन्टी भएपछि बजेटको सुनिश्चितता गर्ने नीति लिएका छौँ ।”
विश्वभर आर्थिक मन्दी कायमै रहेको बताउनुभएका मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेट दुई/तीन अर्ब घटेर आउन सक्ने आकलन गरेका छन् । “बजेटका स्रोतहरु घट्दै जाँदा हाम्रा आवश्यकता बढ्दै गएका छन् । यो एकदम चुनौतीको स्थिति पनि छ ।” उहाँले भन्नुभयो, “यो चुनौतीलाई सामना गर्नका लागि सबै विकास साझेदारहरुको एकता आवश्यक छ ।”
देशको विकासमा अन्तरास्ट्रिय स्तरको सहयोग निरन्तर हुने अपेक्षा गर्दै मुख्यमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा बाढी र डुवानको उच्च जोखिम रहेको बताउनुभयो । उहाँले पहाडी जिल्लामा सबैभन्दा बढी जोखिम भुकम्पको रहेको बताउनुभएको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले विपतलाई लक्षित गरेर निर्माण भएका संरचना विपतमैत्री हुनुपर्नेमा जोड दिएका छन् । टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले विकासका सवालमा टीकापुरको दक्षिण पुर्वी क्षेत्र निकै पछाडि परेको बताउँदै आगामी प्रदेशको बजेटमा सम्बोधन गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालन अमृता रावलले गरेकी थिइन ।
परराष्ट्र मन्त्रालय जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोग, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) को साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखीम न्यूनीकरण परियोजना अन्तर्गत निर्माण भएको उक्त उक्त भवन एक करोड २१ लाख ८१ हजार ९ सय २९ रुपैयाँ ६ पैसामा निर्माण गरिएको हो । बाढीको उच्च जोखिम रहेको सो क्षेत्रमा जोखिमको समयमा सोही भवनमा आश्रय लिन सकिने छ भने अन्य विपतको समयमा पनि सो भवन प्रयोगमा ल्याउन सकिने छ ।