पत्ता लागेन चोरी भएको सरकारी मोटरसाइकल

शेयेर गर्नुहोस


टीकापुर २८ भदौ /
जानकी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सुरेश कुमार चौधरी चड्ने सरकारी नम्बर प्लेट भएको मोटरसाइकल १८ गते राती कार्यालय परिसरको पार्किङ क्षेत्रबाट चोरी भयो ।
भदौ १८ गते राती चोरी भएको मोटरसाइकल अहिलेसम्म पत्ता लागेको छैन । सडक किनारमा रहेको गाउँपालिका कार्यालय सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील छ । कार्यालयमा घेरा पर्खाल छैन । सडकसँग कार्यालय परिसर जोडिएको छ । त्यहीँ परिसरमा एउटा मोटरसाइकल मात्रै नभई अन्य ठुला सवारीसाधन पनि पार्किङ हुन्छन् । त्यस दिन पनि पार्किङ स्थलमा अरु मोटरसाइकल पनि थिए । “मैले प्रायः मोटरसाइकल त्यहीँ पार्किङ स्थलमा पार्किङ गर्ने गरेको छु । यसभन्दा पहिले पनि त्यहीँ पार्किङ गर्थे ।” वडा अध्यक्ष चौधरीले भने, “त्यो दिन पनि मेरो मोटरसाइकल अन्य मोटरसाइकल भन्दा भित्र थियो ।”
उनकाअनुसार गाउँपालिकाको सिसीटिभी क्यामरामा मोटरसाइकल चोरीको दृश्य कैद भएको छ । त्यसमा ब्याक्तीको हुलिया पहिचान गर्न सकिए पनि मान्छे चिनिएको भने छैन । पूरा मान्छे क्यामरामा कैद नहुँदा अनुसन्धानमा समस्या भएको छ । मोटरसाइकल चोरीमा चारजनाको दृश्य कैद भएको वडा अध्यक्ष चौधरीले बताएका छन् । उनका अनुसार रातिको १ बजेर ४५ मिनेटमा मोटरसाइकल पार्किङ क्षेत्रबाट चोरी भएको देखिन्छ ।
उसो त गाउँपालिकाले रातीको समयका लागि तीनजना चौकीदार राखेको छ । जसमा एक जना गाउँपालिकाले।राखेको छ भने एकजना वडा नं. १ ले राखेको छ । तेस्रो ब्याक्ती सँगैको दुर्गौली स्वास्थ्य चौकीले राखेको छ । रातीको समयमा बाहिरको सामानको रेखदेख गर्ने र कार्यालयको सुरक्षाका लागि राखिएका चौकीदारको आँखा समेत चोरले छल्न भ्याएको छ । गाउँपालिकाका प्रशासन प्रमुख मेवालाल चौधरीले आफुहरुले प्रहरीलाई खबर गरेको बताउँदै प्रहरीबाट मोटरसाइकल फेला परेको रिपोर्ट आइनपुगेको बताएका छन् ।
गाउँपालिकाको पार्किङ क्षेत्रबाट सरकारी ६४४ नम्बर प्लेटको सवारी साधन चोरी भएको पछिल्लो दिन अर्थात भदौ १९ गते नै प्रहरीलाई जानकारी दिएको थियो । प्रहरीले पनि अहिलेसम्म मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले सिसी टिभी क्यामरामा कैद भएका ब्याक्तीको हुलियाका आधारमा ४/५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मोटरसाइकल चोरीमा संलग्न नभएको पाइएपछि उनीहरुलाई छोडिएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले घटना अनुसन्धानकै क्रममा रहेको बताएका छन् । “सिसिटिभी भुटेजमा देखिएको हुलियाको आधारमा केही ब्याक्तीलाई पक्राउ गरेर अनुसन्धान गर्दा त्यसबाट केही पत्ता लाग्न सकेन । अहिले पनि हाम्रो अनुसन्धान जारी नै छ ।” प्रहरी निरीक्षक अवस्थीले भने, “बाहिरका अन्य इकाईहरुमा समेत जानकारी गराएका छौं । सबै क्षेत्रबाट मोटरसाइकल खोजीको कार्य चलिरहेको छ ।”
उसरी हेर्दा त गाउँपालिकाको कार्यालय असुरक्षित पनि देखिएको छ । स्थापना कालदेखि भाडामा भवन लिएर सेवा प्रवाहको काम गर्दै आएको गाउँपालिकाले अहिले वडा नं. १ को कार्यालयका लागि निर्माण भएको भवनबाट सेवा प्रवाहको काम गर्दै आएको छ । स्थानीय सरकार आएकै सात वर्ष पुग्दा पनि गाउँपालिकाको भवन निर्माणको टुंगो लाग्न सकेको छैन । जग्गाको अभावमा आफ्नो भवन निर्माण गर्न नसकेको गाउँपालिकाले जग्गादाताबाट जग्गा प्राप्त गरेको छ । प्राप्त गरेको जग्गामा खर्च धेरै लाग्ने अनुमान गाउँपालिकाको छ । यसवर्ष गाउँपालिकाले भवन निर्माणका लागि डिपिआर निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि करिब १८ लाख बजेट विनियोजन भएको लेखा अधिकृत दिनेश माझीले बताएका छन् ।

ताजा खबर

भुकम्पका ठूलो धक्का

ऐंठनलाई मदन पुरस्कार

अब किस्तामा पनि धारा जडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *