शेयेर गर्नुहोस
टीकापुर ०८ पुस /
टीकापुर सामुदायिक पुस्तकालयले प्रदान गर्दै आएको असल पाठकको पुरस्कार उपेन्द्र चौधरीले प्राप्त गरेका छन् ।
टीकापुर सरोकार समुहको सहयोगमा टीकापुर पुस्तकालयमा नियमित आएर अध्ययन गर्ने असल पाठकलाई पुरस्कार प्रदान गर्दै आएकोमा मंसिर महिनाको असल पाठक चौधरी घोषित भएका हुन । उनले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुस्तकालयमा अध्ययन गर्न आउने पाठकको संख्या कम हुन थालेपछि पुस्तकालयले प्रत्येक महिना असल पाठकलाई १० हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।
पुस्तकालयले एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा कक्षा ११/१२ स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ । पुस्तकालय व्यवस्थापन समितीका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ क वडा अध्यक्ष मोहन विकले पुस्तकालय समाजको ऐना भएको बताउँदै त्यसलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । उनले पाठकहरुलाई पुस्तकालयसम्म आउने माध्यम अहिलेको पुरस्कार घोषणाले बनाएको बताउँदै पुस्तकालयले पाठक आकर्षित हुने खालका गतिविधि सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।
टीकापुर नगरपालिका भित्रका नौवटा बिद्यालयको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा बिरेन्द्र बिद्या मन्दिर माध्यमिक बिद्यालयकी लक्ष्मी रेग्मी प्रथम भएकी छन् । त्यस्तै संन्त निरंकारी आदर्श माद्यामिक बिद्यालयका अर्जुन पोख्रेल दोस्रो स्थान हालिस गर्न सफल भएका छन् भने, सगुन बिद्या निकेतन टीकापुरकी कोपिला परियार तृतीय भएकी छन् । “सन्ततिलाई आध्यात्मिक बनाउन अभिभावकको भुमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
नागरिक अगुवा यज्ञमुर्ती अर्याल विशिष्ट अतिथि रहेको कार्यक्रममा टीकापुर सरोकार समुहका नवराज भट्टराई, पुस्तकालयका पुर्व सचीव पुर्णप्रसाद रग्मी लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा प्राध्यापक डा. धनकृष्ण उपाध्याय, चक्रप्रसाद अधिकारी र देवकला विष्ट रहेका थिए । सचीव देवेन्द्र शाहले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष धर्मराज शर्माले गरेका थिए ।