शेयेर गर्नुहोस
टीकापुर ३१ असार/
सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि ल्याएको बजेट दुई तिहाई बहुमतले आज पास भएको छ ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट पासका लागि गरेको प्रस्तावका पक्षमा सत्ता साझेदार चार दलका ३९ जना प्रदेश सभा सदस्यले बजेटको पक्षमा मतदान गरे । बिपक्षमा राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरे । १० जना प्रदेश सभा सदस्य रहेको नेकपा एमाले र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी भने अनुपस्थित रहे ।
बजेटको पक्षमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्यले मत दान गरे । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूर पश्चिममा प्रदेश सभामा बझाङबाट निर्बाचित पृथ्वी बहादुर सिंहको निधन भएपछि ५२ जना सदस्य छन् । बजेट पास गर्न २७ जना सदस्यको समर्थनको आवश्यकता पथ्र्यो । बजेटको पक्षमा भने सत्तारुढ दलका ३९ जना सदस्यले मतदान गरे । लामो रस्साकस्सी र बिरोधपछि अन्ततः सत्तारुढ दलहरुको समर्थन जुटाउन सरकार सफल भयो । सत्तारुढ दलहरुको बैठक दिनभरी जारी रहेका कारण राति १० बजे बजेट पास भएको हो ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेटको बिरोधमा शुरुकै दिनदेखि उभिएका सत्ता रुढ दलका प्रदेश सभा सदस्यहरुसंग सरकारको पटक पटकको छलफलपछि आज सहमती जुटेको हो । बजेट संशोधन नभए उनीहरु पास नगर्ने अडानमा थिए । सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुका लागि प्रदेश सांसद बिकास कोषमा ३ करोड थप्न प्रदेश सरकार सहमत भएपछि बजेट पास गर्न उनीहरु सहमत भएका भएका हुन् । यसअघि दुई करोड रुपैया संसद विकास कोषका लागि बिनियोजन गरिएको थियो । अव उक्त कोष ५ करोड रुपैयाको हुनेछ ।
मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले काँग्रेसका प्रदेश सभाका सदस्यहरुको गुनासो र मागहरु सम्बोधन गर्ने प्रतिबद्धतापछि सम्पूर्ण प्रदेश सभा सदस्यहरु बजेट पास गर्न एक मत भएका थिए । बिहानैदेखि प्रदेश सभा हलको बाहिर रहेका एमालेका प्रदेश सभा सदस्यहरु साढे ६ बजेसम्म बैठक शुरु नभएपछि हलबाट बाहिरिएका थिए । उनीहरु त्यसपछि फर्केनन । एमालेका सांसदहरु र स्वतन्त्र सांसद तारा जोशीले बैठक बहिस्कार गरे । प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।