शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २४ मंसिर /
सुदुरपश्चिम प्रदेशसभा सांसद उमादेवी वादीलाई यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’२०७७ बाट सम्मान गरिएको छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बिहिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. मीनेन्द्र रिजालले सांसद वादीलाई नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । समाज सेवा वा सामाजिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उद्देश्यले मानव अधिकारकर्मी कृष्ण पहाडीका पिता बद्रीप्रसाद पहाडीका नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि एक लाख १० हजार नगदसहित सम्मानपत्र रहेको छ । उक्त पुरस्कार सांसद वादीलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा मन्त्री रिजालले वादीको सामाजिक अधिकारका लागि उमादेवीको योगदान उल्लेखनीय रहेको भन्दै सही व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको बताएका छन् । उनले मानवअधिकारको क्षेत्रमा पछाडि पारिएको वादी समुदायलाई अगाडि ल्याउनमा सांसद वादीको भुमिका सम्मान योग्य रहेको बताए ।
सम्मान ग्रहण गर्दै सांसद वादीले आत्मसम्मानको लडाईंमा आफूले गरेको योगदानको कदरस्वरुप आफूलाई पुरस्कृत गरिएको भन्दै अत्यन्त गौरवान्वित महसुस गरेको बताएकी छन् । उनले यस पुरस्कारले आफूलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको बताइन् । “समाज र राष्ट्रको लागि गरेको योगदानलाई मानवअधिकार तथा शान्ति समाजले चिनेकोमा समाजप्रती हार्दिक कृतज्ञ छु ।” वादीले भनिन्, ” यसले आगामी दिनमा पनि झन जोस र जागरका साथ काम गर्ने हौसला दिएको छ । यस सम्मानले अझै म माथी धेरै अवसर र चुनौतीहरु थपेको मैले महसुस गरेकी छु । “