प्रधानमन्त्रीमा अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

शेयेर गर्नुहोस


काठमाडौ ०९ पुस /

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् ।
नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आइतबारसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन । उनलाई कूल एक सय ६९ सांसदको समर्थन छ ।
त्यसमा नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ । राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन् ।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन् ।
आइतबार राष्ट्रिय राजनीतिमा आएको तरंगले सत्ता गठबन्धन तोडिएको छ । सत्ता गठबन्धन मात्रै नभई राष्ट्रिय राजनीतिक परिवर्तनले सत्ता समीकरणबाट नेपाली काँग्रेसमा बाहिरिएको छ । काँग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया भने दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले गठबन्धन तोडिएको आरोप लगाएका छन् ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताएका छन् । यस्तै काँग्रेस नेता चन्द्र भण्डारीले नेतृत्वले आफूलाई बाहेक अरूलाई नदेखेपछी त्यसको परिणाम गलत आएको बताए । पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेसले सबै गुमाएको जिम्मा पदाधिकारीहरूले लिनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीले भने यो समाचार तयार पार्दासम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीका लागि प्रचण्डले आज (सोमबार) सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताएइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *