शेयेर गर्नुहोस
टीकापुर १४ असार /
टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि नगर क्षेत्रमा प्लास्टिकका झोला प्रतिबन्ध लगाउने भएपछि व्यापारीहरुले त्यसको विकल्प खोज्न थालेका छन् ।
नगरपालिकाको सरसफाइ शाखाले केही दिन अगाडि मात्रै प्लास्टिकका झोला प्रतिबन्ध लगाउने विषयमा नगरपालिका भित्रका विभिन्न ठाउँमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेसँगै केही व्यापारीहरुले प्लास्टिकको विकल्पमा प्रयोग हुने झोलाको व्यवस्थापन गर्न थालेका छन् । केही व्यापारीहरुले प्लास्टिकको झोलाको सट्टा कपडाको झोला प्रयोगमा ल्याएका छन् । “केही दिन अगाडि सडक नाटकमा कपडाको झोला प्रयोगको लागि आग्रह गरिएको थियो । आज किराना पसलमै प्लास्टिकको झोलाको विकल्प कपडाको झोला प्रयोग भएको पाइयो ।” सिर्जनशील युवा समाज नेपालका अध्यक्ष झलनाथ खनालले भने, “नाटक हेर्दा थाहा पाएपछि प्लास्टिकको विकल्पमा कपडाको झोला प्रयोग गरेको र साउन १ गतेपछि पुर्ण रुपमा प्लास्टिक प्रतिबन्ध लगाउने व्यापारी भन्छन् ।”
“नगरपालिकाले अभियान मार्फत जानकारी गराएपछि प्लास्टिकका झोलाको साटो कपडाको झोला बिक्रीवितरण थालिसकेका छौँ ।” व्यापारी पुष्पराज देवकोटाले भने, “आगामी दिनमा यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भए कपडाको झोला उत्पादनसँगै रोजगारीको अवसर सिर्जना हुने सम्भावना पनि छ ।” उनले नगरपालिकाले प्लास्टिक प्रतिबन्ध लगाउउने कार्यलाई सबै व्यापारी र उपभोक्ताले साथ दिनुपर्ने उनको भनाई छ ।
वातावरणीय असर पुर्याउँदै आएको प्लाष्टिक झोलाले नदी, माटोलाई बिगार्नुका साथै जनावर र मानिसलाई समेत प्रत्यक्ष असर पुग्ने भएकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउने तयारी भइरहेको नगरपालिकाको सरसफाई शाखाका प्रमुख लोकबहादुर बुढाले जानकारी दिएका छन् । बुढाका अनुसार पालिकाले नगर प्रहरीको सहयोगमा बजार क्षेत्रमा कडा निगरानी गर्नुका साथै प्लाष्टिक झोला बिक्री वितरण गरिएको पाइए कानुन बमोजिम कारवाही गरिने बताए ।
उनले प्लाष्टिक झोलाका सट्टामा कपडाका झोला, फाइबर ब्याग आदि प्रयोग गर्न पालिकाले नगरबासीलाई आग्रह गरिने बताए । यसअघिका आर्थिक वर्षहरुमा टीकापुर पार्कमा प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाइने नीति लिएको नगरपालिकाले त्यसको कार्यान्वयन आगामी आर्थिक वर्षबाट कडाइका साथ लागू गर्ने जनाएको छ ।
नगरपालिकाले प्लास्टिकका झोला प्रतिबन्ध लगाउने भएपछि कृषि हाट हजारमा कपडका झोलाको बिक्रीवितरण पनि सुरु गरिएको छ । शुक्रबार कृषि हाट बजारमा प्लास्टिकका झोला निरुत्साहित गर्नका लागि एक समुहले कपडाको झोला बिक्रीवितरण सुरु गरेपछि कृषि हाट बजारका व्यापारीहरु पनि विकल्पमा देखिएका छन् ।