फेरि सुरु भयो विमानस्थलको बहस

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० जेठ /
टीकापुरमा फेरि टीकापुर विमानस्थलको विशेषले स्थान पाउन थालेको छ ।
पटकपटक बहसमा आउने गरेको टीकापुर विमानस्थलको विषय अहिले फेरि पुरानो विमानस्थललाई सञ्चालनमा ल्याउने कि त्यसको विकल्प खोज्ने भन्ने विषयमा फेरि छलफल हुन थालेको हो । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विषयमा दुई जना कन्शल्टेन्टलाई खटाएर विमानस्थलको विषयमा खुला छ्लफल सुरु गरेको छ ।
प्राधिकरणको तर्फबाट कन्शल्टेन्ट बिज्ञको रुपमा खटाइएका पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. जनकराज शाहले अहिलेको विमानस्थलबाट सानो जहाज सञ्चालनमा ल्याउन सकिने भएपनि ठूलो क्षमताको विमान सञ्चालनमा ल्याउनको लागि सम्भव नभएको बताउँदै त्यसका लागि के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल सुरु गरिएको बताएका छन् ।
छ्लफल कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले टीकापुरमा विमानस्थल आवश्यक रहेको बताउँदै जुनसुकै अवस्थामा पनि विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने बताएका छन् । उनले अहिले अल्पकालीन रुपमा पुरानो विमानस्थललाई सञ्चालनमा ल्याएर दीर्घकालका लागि योजना बनाएर राज्यसँग बजेट माग गर्नुपर्ने बताएका छन् । “विमानस्थल सञ्चालनमा आउनुपर्छ । टीकापुरबाट विमान उड्नुपर्छ । त्यसका लागि नगरपालिकाले गर्नुपर्ने काम र खेल्नुपर्ने भुमिकाको लागि कतै कमि हुनदिने छैनौं ।” नगर प्रमुख डगौंराले भने, “कुरा र बहस धेरै भए अब काम गरौं । अल्पकालीन रुपमा अहिलेको विमानस्थललाई सञ्चालनमा ल्याउन प्रयास गरौं । भविष्यको लागि त्यसको विकल्पमा भएको अध्ययन अनुसार अगाडि बढौं ।”
कार्यक्रममा नगर उपप्रमुख खडकबहादुर शाहले राज्य नै जिम्मेवार हुन नसक्दा विमानस्थलको विषय उठ्ने र सेलाउने गरेको बताएका छन् । उनले अहिलेको विमानस्थललाई फराकिलो बनाएर सञ्चालनमा ल्याउँदा मुअब्जामा धेरै खर्च हुनसक्ने भन्दै त्यसको विकल्पको रुपमा वडा नं. ५ मा सर्भे भएको क्षेत्रको लागि राज्यसँग पहल गर्नुपर्ने बताएका छन् । “विमानस्थलका टीकापुर नर्सरी सबैभन्दा उत्तम स्थान हुनसक्छ । त्यसका लागि टीकापुरको साझा आवाज बनाएर राज्यसँग माग गरौं ।” नगर उपप्रमुख शाहले भने, “समस्या जग्गाको छैन । समस्या राज्यले हेर्ने नजरियाको हो । विमानस्थल सञ्चालन गर्दा अब एकै ठाउँलाई केन्द्रित गराएर अगाडि बढ्नुपर्छ ।”
छलफलमा आफ्नो धारणा राख्नेहरुले अल्पकालीन रुपमा अहिलेको विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउने र दीर्घकालीनका लागी टीकापुर नर्सरीलाई विमानस्थल बनाइनुपर्ने बताएका छन् । बस्तीको बीचमा विमानस्थल सञ्चालन हुन नसक्ने र त्यस्ले भोलिका दिनमा समस्या थप्दै जाने भएका कारणले पनि विमानस्थल स्थानान्तरण नै महत्त्वपूर्ण हुने बताएका छन् । यसअघि पनि विमानस्थलको दुई पटक सम्भाव्यता अध्ययन भैसकेको छ । विमानस्थलको स्थलगत अनुगमनमा आएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पनि टीकापुर विमानस्थल सञ्चालन हुनमा कसैले रोक्न नसक्ने बताएका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *